चितवन : नेपाली कांग्रेस चौधौ महाधिवेशनमा चितवनको इच्छाकामनाका गीता कुमारी गुरुङले केन्द्रिय सदस्यमा उम्मेद्वारी घोषणा गर्नुभएको छ ।
इच्छाकामना गाउँपालिका अध्यक्ष समेत रहनुभएका गुरुङले बिहिबार उम्मेद्वारी घोषणा गर्नुभएको हो ।
स्पष्ट वक्ता र हक्की स्वभावकी कांग्रेसको युवा र पुराना सबै नेता कार्यकर्ताहरुमाझ लोकप्रिय रहनुभएका गुरुङले कांग्रेसलाई थप शसक्त र सुढृढ बनाउनका लागि आफ्नो उम्मेद्वारी घोषणा गरिएको बताउनुभयो । अब सधैं अरुलाइ पालो दियो अब त मेरो पनि बेला भयो कि भन्ने लागेर उम्मेद्वारी दिन लागेको उहाँको भनाई छ ।

नेपाली कांग्रेसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) देखि राजनिति यात्रा सुरु गर्नुभएका गुरुङ साबिक दारेचोकका तरुण अध्यक्ष, चितवन जिल्लाको तरुण सदस्य, नेपाली कांग्रेसकोे १२ आँै माहाधिवेशनबाट केन्द्रिय महाधिवेशन प्रतिनिधि हुँदै १३ औँ महाधिवेशनमा महासमिती सदस्य र १४ औँ मा पनि महाधिवेशन प्रतिनिधि भइसक्नुभएको छ ।
गत स्थानीयतहको निर्वाचनमा चितवनमा कांग्रेसले ६ वटा स्थानीय तहमा पराजय बेहोर्दा इच्छाकामनामा भने उहाँले निर्वाचन जित्न सफल हुनुभएको थियो ।
कोरोना नियन्त्रणमा आफ्नो ज्यानको बाजी लगाएर महत्वपूर्ण भूमिका खेल्नुभएका गुरुङको कामले देशभर चर्चा समेत पाएका थिए । उहाँले कोराना नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै लकडाउनका बेला राजमार्गमा अलपत्र परेका हजारौँको उद्धार गर्नुभएको थियो ।
पार्टीमा आफुले विभिन्न तहमा रहेर इमान्दारीका साथ भूमिका निर्वाह गरेको र सफलता पूर्वक गाउँपालिका हाँकीरहेकोले आफ्नो जीत सुनिश्चित रहेका बताउनुभयो । साथै गुट भन्दा पनि पार्टीलाई शसक्त ढंगले अगाडी बढाउन सक्ने उम्मेद्वारलाई मतदान गर्न सम्पूर्ण प्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।