
चितवन : नेपाली कांग्रेस बागमती प्रदेश सभापतिमा संस्थापन पक्षका इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्। संस्थापन इतरका जगदीश्वरनरसिंह केसीलाई १ सय ५८ मतअन्तरले पराजित गर्दै बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका बानियाँ दोस्रो पटकमा प्रदेश सभापतिमा निर्वाचित भएका हुन्।
पहिलो चरणको निर्वाचनमा ४८ प्रतिशत मत प्राप्त गरे पनि कांग्रेसको विधानअनुसार ५० प्रतिशत मत कटाउन नसकेपछि आइतबार पुनः मतदान भएको थियो।
दोस्रो चरणको मतदानमा बानियाँले १०८५ मत प्राप्त गरेका थिए भने केसीले ९२७ मत प्राप्त गरे। कुल २० सय २५ मत खसेकोमा १३ मत बदर भएको थियो।
पहिलो चरणको मतदानमा बानियाँले ९९२ मत ल्याएका थिए भने दोस्रो हुने केसीले ८७२ मत ल्याएका थिए। तेस्रो हुने भीमसेनले १९७ मत ल्याएका थिए। बढी मत ल्याएका बानियाँले ४८ प्रतिशत मत ल्याएका हुन्।