काठमाडौँ, ६ मंसिर । आज नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत जिल्लामा प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन सुरु हुँदैछ । ६० जिल्लाका १४८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा अधिवेशन सोमबार सुरु हुन लागेको काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले रातोपाटीलाई बताए ।
यादवका अनुसार १४ वटा जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ भने सोमबार ६० जिल्लामा अधिवेशन हुन लागेको हो । संयोजक यादवले भने, १४ वटा जिल्लाको प्रतिनिधि सभा क्षेत्रस्तरीय अधिवेशन सम्पन्न भइसकेको छ । बाँकी रहेका १४८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा सोमबारबाट अधिवेशन सुरु हुँदैछ ।
सर्लाही, सिन्धुपाल्चोक र रसुवामा भने अधिवेशन प्रक्रिया रोकिएको छ । उक्त जिल्लाको विवाद समाधानका लागि महामन्त्री डा। शशांक कोइराला र सहमहामन्त्री डा। प्रकाशशरण महतबीच छलफल भएको थियो ।
आज प्रतिनिधिसभा क्षेत्रीय र एक निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पनि हुने छ । मंसिर १० गते एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन हुने छ ।
आज केन्द्रीय महाधिवेशनका मतदाता महाधिवेशन प्रतिनिधि पनि चयन गरिने छ । वडा अधिवेशनबाट चुनिएका क्षेत्रीय प्रतिनिधिले प्रतिनिधि सभा निर्वाचन क्षेत्रको नेतृत्व र महाधिवेशन प्रतिनिधि चयनका लागि मतदान गर्ने छन् ।