काठमाण्डौ : इतिहास रच्दै नेपाल साफ च्याम्पियनशिपको फुटबलको फाइनलमा पुगेको छ । आज भएको खेलमा बङ्गलादेशसँग एक–एक गोलको बराबरी खेल्दै नेपाल पहिलो पटक फाइनलमा पुगेको हो ।
आज बुधवार मालेको राष्ट्रिय रङ्गशालामा भएको खेल एक(एकको बराबरीमा सकिएपछि नेपाल इतिहासमै पहिलो पटक फाइनलमा पुगेको हो । योसँगै नेपालले २८ वर्षको पर्खाइ भङ्ग गरेको हो । सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनशिपमा नेपाल १३ औँ संस्करणमा आइपुग्दा पहिलो पटक फाइनलमा पुग्यो ।
खेलको नवौँ मिनेटमा बङ्गलादेशका लागि सुमन रेजाले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । नेपालका लागि अञ्जन विष्टले खेलको ८८ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् ।
खेलको ७९ औँ मिनेटमा गोलकीपर अनिसुर रहमान जिकोले रातो कार्ड पाएपछि उनको ठाउँमा अशरफुल राना आएका थिए ।
आजको जितसँगै नेपाल चार खेलमा सात अङ्कसहित फाइनलमा पुगेको हो । चार खेल खेलेको नेपालले दुईमा जित, एकमा हार र एकमा बराबरी खेलेको हो । फाइनलमा पुग्न नेपाललाई आजको खेलमा कम्तीमा पनि बराबरीको नतिजा चाहिएको थियो ।
आज हारेको बङ्गलादेश चार खेलमा पाँच अङ्कसहित प्रतियोगिताबाटै बाहिरिएको छ । अब नेपालले फाइनलमा आज नै हुने अर्को खेल (भारत र माल्दिभ्स) को विजेतासँग खेल्नेछ ।