
कुरिनटार-नेपाल निवृत्त शिक्षक समाज इच्छाकामना द्वारा विजया दशमी, दीपावली तथा छट पर्वका अवसरमा शुभकामना आदान प्रदान सहितको पूर्ण बैठक बसी विभिन्न विषयमा छलफल सहित निर्णय गरेको छ ।
नेनिशिस इच्छाकामनाका अध्यक्ष कृष्णप्रसाद पोखरेलको अध्यक्षतामा इच्छाकामना ३ चुम्लिङ्टार स्थित उहाँकै निवासमा बैठक सम्पन्न भएको थियो । सो बैठक समारोहमा नि शि स चितवनका सचिव एकराज शर्माको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रम नि शि स इच्छाकामनाका सचिव विष्णुप्रसाद सापकोटाले संचालन गर्नुभएको थियो । निवृत्त शिक्षक मधुविलास अधिकारी , श्रीरेन्द्रप्रकाश पोखरेल , नारायणप्रसाद अधिकारी, थानेश्वर काप्री, ऋषिराम अधिकारी र कृष्णप्रसाद सिलवालको उपस्थिति रहेको थियो । निवृत्त शिक्षक समाज इच्छाकामनाका अध्यक्ष कवि कृष्णप्रसाद पोखरेल बाट आमन्त्रित व्यक्तित्वको स्वागतमा कविता वाचन गर्नुभएको थियो ।
वाचित कविता यस प्रकार थियो ।
“गर्छौँ स्वागत आज हार्दिक यहाँ निवृत्त साथी कन ।
यो यात्रा विचमा सखा मिलनले ज्यादै खुसीभो मन ।।
शिक्षा शिक्षणमा बिते दिनहरू सुम्पेर त्यो यौवन ।
ऐले छौँ घर भित्र वृद्ध वयमा यस्तैछ यो जीवन ।।
हाम्रा दु:ख बिसाउने समय भो निवृत्तको आँगन ।
धेरै छन् यस भित्रमा विविधता पाइन्छ के मागन ।।
इच्छा भित्र फराक छन् हृदयमा आसा तिरै सम्मत ।
यो कार्यक्रम बाट मान्य गुरुमा मेरो यही स्वागत ।।”
स्वागत मन्तव्यको क्रममा इच्छाकामना साहित्य प्रवाह या निवृत्त शिक्षक समाज इच्छाकामनाको संचालना हामी अग्रभागमा रहेका कारण हामी अग्रगामी हौँ भन्नू भयो । किनकि इच्छाकामना साहित्य प्रवाहको स्थापना इच्छाकामना गा. पा. को नामाकरण नहुँदै भएको धरणा राख्नुभएको थियो । त्यस्तै निवृत्त शिक्षक समाज इच्छाकामनाको गठन जिल्ला समितिको सोच आउँनुभन्दा डेड्वर्ष अगाडीनै हामीले गठन गरिसकेका थियौँ भन्नुभयो । धेरै संस्थाहरूले इच्छाकामना गा.पा.भए पछि नाम परिवर्तन गरे तर हामीले नाम फेर्नपरेन, यो अत्यन्त गौरवको विषय हो भन्नुभयो ।
अर्को गौरवको विषय हामीले निवृत्त शिक्षक समाज इच्छाकामना बाट जिल्ला समिति चितवनको सचिव पाएका छौँ त्यस्तै इच्छाकामना ३ का अध्यक्ष पाएका छौँ । उहाँहरू दुबैमा हार्दिक बधाई साथै शुभकामना दिन चाहन्छु ।
दु:ख, सुख गरेर हामीले यतिका वर्ष बितायौँ भन्दै अब बाँकी समय सिर्जनशील कार्यमा लगाऔँ र हासी खुसीका साथ बाचौँ भन्नुभयो । दलिय संकुचन भन्दा उदार मानसिकता बाट अभिप्रेरित भएर हामी सबै इमान्दार पक्षको साझा हुने प्रयत्न गरौँ भन्नुभयो । हामी सबै जुवा, तास,धूम्रपान र मद्यपान जस्ता कुलत बाट टाढा छौँ यदि कोहि यसको लतमा फस्नुभएकोछ भने न्यूनीकरण गर्दै यसबाट टाढा हुने प्रयत्न गरौँ भन्नुभयो । हामी अनुभवी शिक्षक हौं । समाजमा हामी परिचित छौँ भन्दै यहाँ हाम्रो इज्जत र सम्मान छ भन्नुभयो । यसलाई बचाइराख्नु पर्दछ भन्दै हाल सम्म हामी यसमा सफल छौँ र बाकी जीवन पनि अवस्य सफल हुने छौँ भन्दै “आफ्नो गाउँ आफैँ बनाऔँ” भने जस्तै आफ्नो संस्थालाई बनाउने अभिभारा हामीमा नै छ भन्नुभयो । जता फर्काए पनि अर्थकै आवश्यकता पर्दछ भन्दै संस्थालाई आडिलो बनाउने पनि अर्थले नै रहेछ भन्नुभयो । अब यस संस्थालाई पनि हामी बाटै सकेको सहयोग जुटाएर हामीले नै यसको उपयोग गरौँ र सकेसम्म अरुको पनि सहयोग गर्नसक्ने क्षमता मा पुग्नसकौँ भन्नुभयो । यही उद्धेश्य राखेरआफ्नो जन्मदिनका अवसरमा रु ५००५/- (पाँच हजार पाँच) निवृत्त शिक्षक समाज इच्छाकामना कोशमा जम्मा गर्ने घोषणा गरेको कुरा स्मरण गर्दै सो रकम संस्थाका कोषाध्यक्ष थानेश्वर काप्रीलाई हस्तान्तरण गर्नु भएको थियो ।
उपस्थित सबै निवृत्त शिक्षकहरू बाट आफ्ना विचार सहित निकट आउँदै गरेको विजया दशमी,शुभ दीपावली र छट पर्वका अवसरमा क्रमश: शुभकामना राख्नु भएको थियो । प्रमुख आतिथ्यता गर्नुभएका नेपाल नि शि स जिल्ला समिती चितवनका सचिव एकराज शर्माले सेवा निवृत्त शिक्षकहरूका हक हितकालागि नेपाल निवृत्त शिक्षक समाजले पहल गर्दै आएको धारणा राख्नुभयो । साथै साथीहरू बाट सोधिएका प्रश्नहरूको जिज्ञासा समाधान गर्नुभएको थियो ।
निवृत्त शिक्षक समाज इच्छाकामनाका कोषाध्यक्ष थानेश्वोर काप्री कि श्रीमती दुर्गादेवी काप्रीको २०७८ वैशाख २७ गते भएको असामयिक निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै एक मिनेट मौनधारणा सहित समवेदना सन्देश पारित गरिएको थियो ।
सोही अवसरमा निवृत्त शिक्षक समाज इच्छाकामना आबद्ध शिक्षकहरुको आत्मानुभूति प्रकाशन गर्ने सर्वसम्मत निर्णय गरियो । आगामी बैठक उमेरगत रोलक्रमका आधारमा निवृत्त शिक्षक तथा इच्छाकामना ३ का अध्यक्ष गोवर्धन अधिकारीको निवासमा गर्ने समेत निर्णय गरिएको थियो ।