कुरिनटार,१८ भदौ । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण बन्द भएको मनकामना केबलकार आइतबारदेखि सञ्चालनमा आउने भएको छ। स्वास्थ्य मापदण्ड पालना गरेर केबलकार संचालनमा ल्याउने चितवन कोइका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठले बताउनुभयो ।

स्वास्थ्य मापदण्ड पूरा गरेर आइतबारदेखि संचालनमा ल्याउन लागिएको उहाँले बताउनुभयो । कोभिड संक्रमण बढेपछि सरकारको निषेधाज्ञासँगै केबलकार बन्द भएको थियो।

कोभिड संक्रमणको महामारीलाई ध्यानमा राख्दै कम्पनीले नगदरहित कारोबार इ–सेवा, फोन पे र खल्तीमार्फत टिकट काट्ने व्यवस्था गरिएको छ। उहाँका अनुसार इ–सेवा मार्फत टिकट बुकिङ गर्दा यात्रुले फोनमै टिकट प्राप्त गर्न सक्नेछन् भने फोन पे मार्फत टिकट काउन्टरबाट टिकट लिन सक्नेछन्।

कम्पनीका अनुसार स्यानिटाइजेसन, ह्याण्ड वास, डिसइन्फेक्सन मेसिन, शरीरको तापक्रम मापन लगायतको स्वास्थ्य सुरक्षाको प्रबन्ध गरिसकेको छ। चाडपर्व सुरु भइसकेकोले केबलकारमा यात्रुहरुको भीड समेत बढ्नेछ। मनकामना मन्दिर खोल्ने बारेमा भने हाल सम्म निर्णय भइसकेको छैन । जिल्ला प्रशासन कार्यालय गोरखाले छिट्टै निर्णय गर्ने जनाएको छ ।