चितवन : पछिल्लो २४ घण्टामा चितवनमा कोरोना संक्रमणबाट पाँच जनाको ज्यान गएको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर अस्पतालमा दुई जना र चितवन मेडिकल कलेजमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृतकमध्ये चितवनका तीन जना, मोरङको एक जना र लमजुङको एक जना रहेका छन् ।
त्यसैगरी चितवनमा विगत २४ घण्टामा ७१ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार भरतपुर महानगरपालिकामा ५२ जना, खैरहनी नगरपालिकामा एक जना, माडीमा सात जना, रत्ननगर नगरपालिकामा सात जना, राप्ती नगरपालिकामा एक जना, कालिका नगरपालिकामा दुई जना र इच्छाकामना गाउँपालिकामा एक जना रहेका छन् । जिल्लामा सक्रिय संक्रमितको संख्या एक हजार २५४ जना रहेको छ ।
त्यस्तै विगत २४ घण्टामा विभिन्न अस्पतालबाट १७ जना कोरोनाका बिरामी डिस्चार्ज भएका छन् ।
आज चितवनका तीन जनाको मृत्यु भएसँगै चितवनमा अहिलेसम्म कोरोना संक्रमणबाट ३९९ जनाले ज्यान गुमाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।