
गोरखा : सम्भव नेपालले गोरखाको गण्डकी गाउँपालिका का चेपाङ समुदायलाई राहत वितरण गरेका छन् । कोरोना महामारीसँगै लागु गरिएको निषेधाज्ञाका कारण विहान बेलुका छाक टार्न मुस्किल भएका ७ सय बढी घर चेपाङ्ग परिवारलाई चामल, नुन, तेल र दाल वितरण गरेका हुन् ।
गाउँपालिका अध्यक्ष होम बहादुर रानामगर,उपाध्यक्ष ललिता अधिकारी, तमु छो धि गुरुङ राष्ट्रिय परिषद्का केन्द्रिय अध्यक्ष रेशम गुरुङ, चेपाङ संघका केन्द्रिय अध्यक्ष जितेन्द्र चेपाङ, वडा न ६ का वडा अध्यक्ष जिवन गुरुङ, पत्रकार महासंघ गोरखाका पूर्व अध्यक्ष किशोर जङ थापा, बर्तमान अध्यक्ष नरहरी सापकोटा लगायतको उपस्थितिमा सम्भव नेपालका संस्थापक अध्यक्ष तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि प्रेम कुमार खत्रीले उक्त राहत सामाग्री वितरण गर्नुभएको हो ।
चेपाङ्ग बाहुल्य वडा नम्बर ७, ६, २ र १ नम्बर वडाका नियमित आय आर्जन नभएका र सरकारी तथा गैह सरकारी संघ संस्थामा आवद्व नभएका परिवारका सदस्यहरुको परिवारलाई राहत वितरण गरिएको हो ।
राहत वितरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष होम बहादुर राना मगरले निषेधाज्ञा सँगै यहाँका चेपाङ समुदाय समस्यामा परेकाले आफुले केही महिनादेखि नै सम्भव नेपालका संस्थापक अध्यक्ष प्रेम कुमार खत्री सामु खाद्यान्न सामाग्री उपलब्ध गराइदिन आग्रह गरेको बताउनुभयो । आफ्नो आग्रहलाई स्वीकार गरि राहत सामाग्री उपलब्ध गराएकोमा सम्भव नेपाल र प्रेम कुमार खत्रीलाई धन्यवाद दिनुभयो । उहाँले चेपाङ समुदायको संस्कार, संस्कृति बारे जानकारी लिन आउने पर्यटकहरुका लागि होमस्टे निर्माण गर्ने बताउनुभयो । उहाँले चेपाङ समुदायको आय आर्जन बृद्धिका लागि विभिन्न सीप मुलक तालिमहरु समेत गाउँपालिकाले सञ्चालन गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा नेपाल चेपाङ संघका केन्द्रिय अध्यक्ष जितेन्द्र चेपाङले स्थानिय सरकारले चेपाङ समुदायलाई आत्मनिर्भर बन्ने खालको कार्यक्रम ल्याउनु पर्नेमा जोड दिनुभयो । उँहाले गाउँपालिकाले चेपाङ समुदायको अगुवाहरुसँग छलफल तथा सल्लाह सुझाव लिएर चेपाङका लागि आवश्यक पर्ने कार्यक्रम ल्याउन आग्रह गर्नुभयो । उहाँले चेपाङले पनि उद्योग व्यापार व्यवसाय संचालन गर्न सक्ने बताउँदैँ शिक्षा र आय आर्जन मुलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
सम्भव नेपालका संस्थापक अध्यक्ष प्रेम कुमार खत्रीले वडा नम्बर ७ मा रहेको प्रजा ज्योति आधारभूत विद्यालयका लागि वडा अध्यक्ष तूलसी रेग्मिको आग्रहमा चार कोठे भवन निर्माण गरिदिने प्रतिवद्धता जनाउनुभयो । साथै उहाँले चेपाङ सुमदायको उत्पादन, रहन सहनका बारे जानकारी गराउनका लागि होमस्टे निर्माण कार्यमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
वडा न ७ का वडा अध्यक्ष तुलसी रेग्मिको अध्यक्षतामा राहत वितरण कार्यक्रम सम्पन्न भएको हो ।