दान बहादुर गुरुङ
चितवन :  चितवनको इच्छाकामना गाउँपालिका ३ चुमखोला र गोरखाको गण्डकी गाउँपालिका १ बुट्टार जोड्ने स्थानमा निर्माण भइरहेको जीपलाइनको काम ४० प्रतिशत सम्पन्न भएको छ । गत फागुन ४ गते श्रीपञ्चमीका दिन गण्डकी गाउँपालिका अध्यक्ष होम बहादुर रानाले शिलान्यास गर्नुभएको हो । कोरोना महामारीका कारण निषेधाज्ञा जारी भए पछि निर्माण कार्यमा ढिलाई भएको रिभर फन विच रिसोर्टका प्रबन्ध निर्देशक शंकर अधिकारीले बताउँनु भयो ।
आन्तरिक पर्यटकलाई आकर्षित गर्ने उदेश्यले करिव २ करोडको लागतमा जिपलाइन निर्माण गरिएको प्रबन्ध निर्देशक अधिकारीले बताउँनुभयो ।
उहाँका अनुसार ४८० मिटर लामो उक्त जीपलाइन निर्माण सम्पन्न भए पछि ३५ देखि ४० सेकेण्ड मै रिभर फन विच रिर्सोट पुग्न सकिनेछ ।
गण्डकी गाउँपालिका अध्यक्ष होम बहादुर राना मगरले जीपलाइन निर्माण सँगै आन्तरिक पर्यटनमा वृद्धि हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले यहाँको  पर्यटन  विकासका लागि ढुक्क भएर लगानी गर्न व्यवसायीहरुलाई आग्रह गर्नु भयो । गाउँपालिकाले सबै प्रकारको व्यावसाय संचालनका लागि सुरक्षा लगायतका सबै सहयोग गर्ने प्रतिवद्धता जनाउँनु भयो ।


यसैबिच रिसोर्टको कम्पाउण्डमा स्काई रोप साइक्लिङ (Sky Rope Cycling)  पनि निर्माण थालिएको प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिनुभयो । ८५ मिटर लामो उक्त स्काई रोप साइक्लिङले पर्यटकलाई थप आकर्षित गरिने उहाँको भनाई छ ।
गोरखाको गण्डकी गाउँपालिका १ बुट्टार स्थित त्रिशूली नदी किनारमा रहेको रिभर फन विच रिसोर्ट आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाइमा रहेको रिर्सोट हो । रिभर फन विच रिसोर्टले पर्यटकका लागि ¥याफ्टिङ, पौडी, डिलक्स सफारी, टेन्ट लगायतका सुविधा दिँदै आएको छ ।
जिपलाइन र स्काई रोप साइक्लिङ सञ्चालन भएपछि पर्यटकहरुको आवागमनमा वृद्धि हुने उहाँको भनाई छ ।