
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आज नै विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभालाई पुनःस्थापना गरेपछि पहिलो बैठक आज अपरान्ह ४ बजे बस्दैछ ।
संसद सचिवालय स्रोतका अनुसार आजको बैठक दुई चरणमा बस्नेछ । पहिलो चरणको कार्यसूची सम्पन्न भएपछि दोस्रो चरणमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने गरी तयारी गरिएको हो ।
सर्वोच्च अदालतको परमादेश अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति देउवालाई गत असार २९ गते प्रधानमन्त्री पदमा नियुक्ति गरेकी थिइन् । प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
सरकार गठनको अन्तिम संवैधानिक विकल्पबाट देउवा प्रधानमन्त्री बनेका हुन्। अब उनले विश्वासको मत नपाए प्रतिनिधि सभा विघटन गरी चुनाव घोषणा गर्नसक्ने संवैधानिक व्यवस्था छ।
आन्तरिक विवादबीच एमालेको नेपाल तथा जसपाको यादव पक्ष आफ्नो पहिलेकै अडानमा अडिग रहेकाले देउवाले विश्वासको मत पाउने सम्भावना प्रबल देखिएको छ।
बहुमत सांसदबाट विश्वासको मत पाए देउवाले प्रतिनिधि सभाको पूरा कार्यकालभर सरकारको नेतृत्व गर्न पाउनेछन्। प्रधानमन्त्री पदमा देउवाले बाँकी डेढ वर्ष निरन्तरता पाउनेछन्।