
चितवन : नेपाली काँग्रेस चितवनले पहिरोमा पुरिएर ज्यान गुमाएकाका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
काँग्रेस चितवनका सचिव उत्तम जोशीले आज (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै पहिरोमा परी ज्यान गुमाएकाका राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन केन्द्र सरकार, बागमती प्रदेश सरकार र सम्बन्धित स्थानीय सरकारसँग माग गरेका हुन् ।
बिहीबार पहिरोले पुरिएर राप्ती नगरपालिका १२ पर्खालका मोतीलाल चेपाङ र कालिका नगरपालिका ११ सिद्धीका ज्ञानबहादुर चेपाङको मृत्यु भएको थियो । दुबै मृतकका परिवारलाई तत्काल राहत र उचित क्षतिपूर्ति उपलब्ध गराउन विज्ञप्तिमार्फत काँग्रेसले सरकारसँग माग गरेको छ ।
यस्तै काँग्रेस चितवनले मृतक चेपाङद्धयको परिवारलाई २५-२५ हजार रुपैयाँ सहयोग उपलब्ध गराउने सचिव जोशीले जानकारी दिए । वर्षासँगै आएको बाढी पहिरोले जिल्लाका बिभिन्न भेगमा गरेको कटान र डुबानको घटना गम्भीर बनाएको विज्ञप्तिमा उल्लेख छ । बाढी पहिरोको जोखिम बढेको भन्दै सतर्कता अपनाउन पनि काँग्रेस चितवनले आग्रह गरेको छ ।
बिहीबार दिउँसो २ बजे आफ्नो घरबाट आफन्तको घरतर्फ जाने क्रममा एक्कासी माथिबाट खसेको पहिरोले पुरिएर कालिका नगरपालिका ११ का सिद्धीका ज्ञानबहादुर चेपाङको मृत्यु भएको थियो । यस्तै बिहीबार नै पहिरोले घर पुरिँदा राप्ती नगरपालिका १२ पर्खालका मोतीलाल चेपाङको मृत्यु भएको थियो । पहिरोमा पुरिएका ३ जना अझै बेपत्ता छन् ।