कुरिनटार :  चितवनको इच्छाकामना गाउँपालिकालाई ठूलो मात्रामा स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न मानविय सेवा तथा अन्तरसांस्कृतिक आदान प्रदान केन्द्र (च्वाइस ह्यूमनीटेरियन नेपाल)ले १२ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गरिएको हो ।
गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ र उपाध्यक्ष कृतिकुमार श्रेष्ठलाई संस्थाको तर्फबाट स्वास्थ्य शाखा प्रमुख बासुदेव सापकोटाले उक्त सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
रेपिड एन्टीजेन डाइग्नोनिष्टक किट, भिटिएम, पल्स अक्सिमिटर, अक्सिजन कन्सनट्रयाक्टर, पिपिइ, मास्क, ग्लोब्स, थर्मन गन बेड लगायत रु १२ लाख बराबरको ३६ थरिका स्वास्थ्य सामाग्री सहयोग गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बासुदेव सापकोटाले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले गत बर्ष पनि यस संस्थाले स्वास्थ्य सामाग्री र खाद्यान्न सहयोग गरेको बताउँदै यहाँको जनताको लागि निरन्तर साथ र सहयोग गरेकोमा धन्यावाद दिनुभयो । कोरोना महामारीका कारण समस्यमा परेका नागरिकलाई हातमा हात साथमा साथ मिलाएर अघि बढीरहेको बताउनुभयो । महामारीसंग लड्नका लागि गाउँपालिकाले विभिन्न संघसंस्थाहरुसंग सहकार्य गरेर अघि बढीरहेको पनि बताउँदै सबैले आफुले सक्ने योगदान आवश्यक रहेको बताउनुभयो । सबै एकजुट भएर अघि बढे यस्ता महामारीलाई परास्त गर्न सकने उहाँले बताउनुभयो।
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, प्रवक्ता सावित्रि गुरुङ र स्वास्थ्यकर्मीहरुको सहभागिता रहेका थिए ।