चितवन :  इच्छाकामना गाउँपालिका ४ का वडाध्यक्ष होम बहादुर मगरको शव अन्त्येष्टि गरिएको छ। साँझ करिब ६ बजेर तिर भारतबाट ल्याइएको मगरको शवलाई अन्त्येष्टि गरिनुपूर्व कुरिनटारस्थित नेपाली कांग्रेस इच्छाकामनाको कार्यालय प्राङ्गणमा राखेर अन्तिम श्रञ्द्धाजली दिने कार्यक्रम गरिएको थियो।

श्रद्धाञ्जली कार्यक्रममा मृतकको शवलाई नेपाली कांग्रेसको तर्फबाट चितवन जिल्ला सभापति जितनारणयण श्रेष्ठ, प्रदेश सभासद मिलनबाबु श्रेष्ठ लगायतले कांग्रेस पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए भने तरुण दलको तर्फबाट क्षेत्रिय सभापति राजकुमार गुरुङ तरुण दलको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए।

यस्तै नेपाल मगर संघको तर्फबाट जित बहादुर मगर र राकेश थापा मगरले मगर संघको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए भने गाउँपालिकाको तर्फबाट गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ, उपाध्यक्ष कृति कुमार श्रेष्ठ, प्रवक्ता सावित्री गुरुङ लगायतका जनप्रतिनिधीले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए।

अन्तिम श्रद्धाञ्जली कार्यक्रममा सयौको उपस्थिति रहेको थियो। कलेजोका समस्याका कारण भारतको मेदान्त अस्पतालमा उपचारको क्रममा मंगलबार राती उहाँको निधन भएको हो