काठमाडौ :  आज नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा देशभरका सबै वडामा विरोध प्रदर्शन गर्ने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनकोविरुद्ध कांग्रेसले देशभरका ६ हजार ७ सय ४३ वडामा प्रदर्शन गर्न लागेको हो।

कांग्रेसले यसअघि पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा र माघ ३ गते ७ सय ५३ वटा स्थानीय तहमा विरोध प्रदर्शन गरेको थियो।

विरोध प्रदर्शनमा सहभागी हुन सभापति शेरबहादुर देउवाले सबैमा अपिल गरेका छन्। देउवाले वडास्तरीय प्रदर्शनमा घर घरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन आग्रह गरेका छन्।