काठमाडौं,२६ पुस । आज थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको ८७ औं जन्मजयन्ती मनाइँदैछ। विष्टको जन्मथलो मकवानपुरको दामनमा फरक सोच अभियानले विशेष कार्यक्रम गर्न लागेको हो।
विकास घर दामन शिखरकोटको प्राङ्गणमा विहान ८ बजेदेखि कार्यक्रम सुरु हुने अभियानले जनाएको छ। रुदाने, जसरु, रापसरु, स्वरुपेजस्ता उपनामले परिचित विष्टले वि.सं.२०२८ सालमा मकवानपुरको उत्तरी क्षेत्रमा शिक्षा आन्दोलन चलाएका थिए।
उनले छोराछोरी स्कुल नपठाउने अभिभावकलाई जरिवाना तिराउने व्यवस्था समेत गरेका थिए। विक्रम संवत् २०१७ सालपछि २२ र २९ सालमा मकवानपुरको पालुङ गाउँ पञ्चायतका प्रधानपञ्च रहेका बिष्ट २०२८ सालमा स्नातक कोटामा राष्ट्रिय पञ्चायतको सदस्य भएका थिए। तर उनको बिचार प्रजातन्त्रवादी भएकाले राष्ट्रिय पञ्चायत सदस्य रहँदा समेत पक्राउ परेका थिए।
वि.सं.१९९० पुस २६ गते मकवानपुरको दामन घर्तिखोलामा जन्मिएका विष्टको २०५६ साल असार ७ गते काठमाडौंमा निधन भएको थियो।