
गोरखा : जिल्लाको चार स्थानीय तहले सोमबार अस्पताल भवन निर्माणको शिलान्यास गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यक्रम अनुसार गोरखाका ८ स्थानीय तहमा अस्पताल निर्माणका लागि एक साथ शिलान्यास कार्यक्रम राखिएको थियो । गोरखाका ८ मध्ये ४ वटा स्थानीय तहले भवन निर्माणको शिलान्यास गरेका हुन् ।
वारपाक सुलिकोट गाऊँपालिकाको वडा नम्वर ४ हुँडीफाँटमा १५ शैयाको अस्पताल भवनको शिलान्यास भएको छ । गाऊँपालिका अध्यक्ष विष्णु भट्टले भवन निर्माणको शिलान्यास गरे । १५ शैयाको अस्पताल निर्माणका लागि यो वर्ष ४ करोड २ लाख रुपैयाँ वजेट विनियोजन भएको छ ।
गाऊँपालिकाले पोलिटेक्निक इन्ष्टिच्युट र अस्पताल निर्माणका लागि यसअघिनै जग्गा ब्यवस्थापन गरेको थियो । हालसम्म पालिकाको नाममा ५८ रोपनी जग्गा प्राप्त भैसकेको प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीको भनाइ छ । ११ रोपनी जग्गामा १५ शैयाको अस्पताल निर्माण हुने र यस अघि नै हुँडीफाँटमा वारपाक पोलिटेक्निक इन्ष्टिच्युट सञ्चालनमा आइसकेको छ ।
शहिद लखन गाऊँपालिकाले वडा नम्वर ५ ताक्लुङको केउरेनीडाँडामा १५ शैयाको अस्पताल भवनको शिलान्यास भएको छ । १८ करोड रुपैयाँ लागत अनुमान रहेको अस्पताल निर्माणका लागि यो वर्ष २ करोड २८ लाख रुपैयाँ वजेट विनियोजन भएको छ । गाऊँपालिका अध्यक्ष रमेश थापामगरले अस्पताल भवन निर्माणको शिलान्यास गरेका हुन् ।
संघीय सरकारले कार्यक्रम तय गर्नु अघिनै शहिद लखनले ताक्लुङमा पालीकास्तरीय अस्पताल बनाउने निर्णय गरिसकेको थियो । सो पालिकाको घैरुङ स्वास्थ्य चौकीलाई पनि स्तरोन्नती गर्ने काम अघि बढिरहेको छ । भारतीय दूवावासको सहयोगमा सो स्वास्थ्य चौकीको नयाँ भवन निर्माणको काम अघि बढिरहेको छ । सोही स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा विकास गर्दा योजनामा दोहोरोपन हुने भएकाले केउरेनीडाँडामा नयाँ अस्पताल बनाउन लागिएको शहिद लखन गाउँपालिकाले जनाएको छ ।
अजिरकोट गाऊँपालिकाको भच्चेक स्वास्थ्य चौकीलाई ५ शैयाको अस्पतालमा स्तरोन्ती गरिने भएको छ । अस्पताल भवन निर्माणको गाऊँपालिका अध्यक्ष फणिन्द्र धितालले शिलान्यास गरेका छन। अस्पताल निर्माणका लागि यो आर्थिक वर्ष ७० लाख रुपैयाँ वजेट विनियोजन भएको गाऊँपालिका स्वास्थ्य शाखाका प्रमुख सुरेश दवाडीले बताए ।
चुमनुब्री गाऊँपालिकाको सिर्दिवास स्वास्थ्य चौकीलाई ५ शैयाको अस्पतालमा स्तरोन्नती गरिने भएको छ । गाऊँपालिका अध्यक्ष धनबहादुर गुरुङले अस्पताल भवनको शिलान्यास गरेका प्रमुख प्रशासकीय अधिकृत भिमसेन श्रेष्ठले बताए । अस्पताल निर्माणका लागि चालु आर्थिक वर्ष ७० लाख रुपैयाँ विनियोजन भएको छ ।
भिमसेनथापा,आरुघाट, सिरानचोक र धार्चे गाऊँपालिकाले जग्गा ब्यवस्थापन भैनसकेकाले अस्पताल भवनको आज शिलान्यास हुन नसकेको सो पालिका अधिकारीहरुले जानकारी दिएका छन् ।