चितवनः संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा )भित्रको बिवाद मिलाउनका लागि सबैको सम्मानजनक सहभागिता आवश्यक रहेको बताउनुभएको छ । आज भरतपुरमा पत्रकारहरु संग कुराकानी गर्दै उहाँले आँफुहरु पार्टीलाई एक ढिक्का वनाउनु पर्छ भन्ने पक्षमा रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो “काङ्ग्रेस र नेकपा सहितका दलहरु समेत मिलेर जानु पर्ने समयमा पार्टी बिभाजन हुनु हुँदैन ।” पार्टी भित्र सबैको सम्मानजनक सहभागिताबाट पार्टी बिभाजन रोकिने भन्दै उहाँले आफुहरुले पार्टीलाई मिलाएर लैजानका लागि नेतृत्वलाई आग्रह गरिरहेको बताउनुभयो ।

मन्त्री भट्टराईले पर्यटन क्षेत्रको विकासका लागि पनर्उत्थानका कार्यक्रमहरु ल्याउने बताउनु भयो । उहाँले पर्यटकीय क्षेत्रको विकासका लागि सरकारले सन् २०२१ लाई आन्तरिक पर्यटनमा केन्द्रित कार्यक्रमहरु ल्याउने बताउनुभयो ।

कोरोनाका कारण नेपालमा मात्रै नभएर विश्वभरको पर्यटन व्यवसायमा प्रभाव परेको बताउँदै मन्त्री भट्टराईले भन्नुभयो “अहिले नेपालको मात्र नभएर विश्वभरिनै कोरोनाका कारण पर्यटन क्षेत्रमा असर गरेको छ । यसलाई उकास्नका लागि सरकारले आन्तरिक तथा बाह्य उडान खोल्न सुरु गरेको छ ।”

अहिले ४० प्रतिशत आन्तरिक उडान सुरु भईसकेको उहाँको भनाई थियो । सन् २०२१ मा आन्तरिक पर्यटन प्रबद्र्धनका लागि काम भईरहेको उहाँले जानकारी दिनुभयो । “यस क्षेत्रको विकासका लागि सरकारले प्याकेज घोषणा गरेको छ” उहाँले भन्नुभयो । प्याकेजका लागि राष्ट्र बैंकले मापदण्ड बनाउने काम गरिरहेको बताउँदै उहाँले भन्नुभयो “राष्ट्र बैंकले बनाएको मापदण्ड अनुसार पर्यटन व्यवसायीले पुनर्कर्जा लिन सक्नेछन् ।”