1. चितवन, ३ असोज । मृगौला पीडित शर्मिला गुरुङके उपचारका लागि रु ११ लाख सहयोग जुटेको छ । दुबै मृगौला फेल भएका चितवनको इच्छाकामना गाउँपालिका ३ चैवुङकी १९ वर्षिया शर्मिला गुरुङको उपचारका लागि ११ लाख ८५ हजार रुपैयाँ रकम संकलन भएको हो । सामाजिक अभियन्ता कृष्ण घोताने गुरुङले सामाजिक सञ्जाल फेसबुकमा गरेको आह्वानबाटै उक्त रकम संकलन भएको हो।
    देश विदेशमा रहेका १ सय १७ जना व्यक्ति तथा संघ संस्थाले उक्त रकम सहयोग गरेको तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का बागमती प्रदेश सदस्य समेत रहनुभएका समाजसेवी एवं व्यवसायी कृष्ण घोताने गुरुङले बताउनुभयो। ‘कोरोना महामारीको यो विषम परिस्थितिमा पनि रकम सहयोग गरेकोमा सहयोग गर्ने सबै मनकारी महानुभावहरुलाई म धेरै धेरै धन्यवाद व्यक्त गर्दछु’ –उहाँले भन्नुभयो।
    बिगत ४ बर्षदेखि दुवै मृगौला फेल भई उपचारत गुरुङको पुरानो मेडिकल कलेज भरतपुरमा डायलासिस गराइरहेको छ। आर्थिक अवस्था कमजोर रहेका गुरुङको उपचारको क्रममा धेरै रकम खर्च भैसकेको र थप उपचार को लागि आर्थिक अभाव भएको भन्दै विभिन्न अनलाईन मिडियाहरुमा समाचार प्रकाशन प्रशारण भएको थियो। सोहि समाचार पढेर पिडितका लागि आफुले केहि पहल गर्न सकिन्छ भनेर आर्थिक सहयोग संकलनका लागि अभियान चलाएको अभियन्ता गुरुङले बताउनुभयो।
    पीडितको उपचारका लागि संकलित रकम शनिबार भरतपुरमा रहेको तीन खोले गुम्बामा एक औपचारिक कार्यक्रम गरि पीडितलाई हस्तान्तरण गरिएको छ। अभियन्ता गुरुङले विभिन्न व्यक्तित्वहरुको उपस्थितीमा पिडितका परिवारलाई रकम हस्तान्तरण गरिएको थियो। संकलित रकम हस्तान्तरण कार्यक्रममा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् चितवनका अध्यक्ष गणेश गुरुङको सभापति रहनु भएको थियो भने तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का केन्द्रिय वरिष्ठ उपाध्यक्ष कर्ण बहादुर गुरुङ प्रमुख अतिथी रहनु भएको थियो।
    यस्तै चितवन इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीता कुमारी गुरुङ विशिष्ट अतिथी रहनुभएको उक्त कार्यक्रममा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का बागमती प्रदेश प्रमुख सन्तलाल गुरुङ, इच्छाकामना ५ का वडाध्यक्ष मोदराज सिलवाल, सृजनशिल महिला जागरण केन्द्रका अध्यक्ष सावित्री पुडाशैनी लगायत विभिन्न मनकारी दाताहरुको उपस्थिति रहेको थियो।
    कार्यक्रमलाई सम्बोन्धन गर्ने क्रममा बोल्ने अधिंकाश अतिथिहरुले समाजसेवी अभियन्ता कृष्ण घोताने गुरुङले गरेको यो अभियानको बारे खुलेर प्रशंसा गरेका थिए।
    सम्बोधन कै क्रममा कार्यक्रमका विशिष्ठ अतिथी एवं इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीता कुमारी गुरुङले सामाजिक अभियन्ता कृष्ण घोताने गुरुङ अत्यन्तै सहयोगी र मनकारी भएको बताउनुभयो। ‘कृष्ण भाईले जुन सामाजिक अभियानका साथ इच्छाकामनाका पिडितलाई सहयोग गर्नुभयो त्यसको लागि म उहाँलाई धेरै धेरै धन्यावाद दिन चाहान्छु’ –उहाँले भन्नुभयो। यस्तै अध्यक्ष गुरुङले कोरोना महामारीको बेला सामाजिक अभियन्ता गुरुङले इच्छाकामना गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरणका साथै देशका विभिन्न ठाउँमा विचल्ली भएका गाउँपालिकाको नागरिकको उद्दारमा समेत सहयोग गरेको स्मरण गर्दै पुनः धन्यवाद दिनुभयो।
    यस्तै कार्यक्रमका प्रमुख अतिथि एवं तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का केन्द्रिय वरिष्ठ उपाध्यक्ष कर्ण बहादुर गुरुङले अभियन्ता गुरुङको प्रशंसा गर्दै यो पुण्य कामले संस्थाकै गरिमा उच्च राख्ने काम गरेकोमा पनि उहाँले धन्यवाद व्यक्त गर्नुभयो। सबैको साथ र सहयोग भएमा कसैले पनि आर्थिक अभावमा ज्यान गुमाउन नपर्ने उहाँको भनाई छ ।