
काठमाडौँ : नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा ९ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ८० पुगेको छ ।
मृत्यु हुनेहरुमा मोरङमा ४३ वर्षीया महिला, मकवानपुरमा ५२ वर्षीया महिला, नवलपरासीमा ३७ वर्षीया महिला, पर्सामा ७५ वर्षीय पुरुष,काठमाडौंमा ४१, ५९ र ६५ वर्षीय पुरुष,रुपन्देहीमा ४० वर्षीय पुरुष, र महोत्तरीमा ७८ वर्षीय पुरुष रहेका छन् ।
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ हजार ४१ जनासहित देशभर संक्रमितको संख्या ४५ हजार २ सय ७७ पुगेको जानकारी दिए ।
संक्रमितमध्ये २७ हजार १ सय २७ जना निको भएर घर फर्किएका छन् भने ज्यान गुमाउनेको संख्या २ सय ८० पुगेको छ ।