आँबुखैरेनी १३ भदौ । बागमती प्रदेशबाट  गण्डकी प्रदेशको प्रवेशद्वार तनहुँको आबुँखैरेनी गाउँपालिका–४ को मुग्लिन पुलजिपमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । उक्त स्थानमा प्रहरी पोष्ट स्थापना पश्चान गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरि बहादुर चुमानले स्थलगत अवलोकन तथा निरीक्षण गरेका छन् ।
निरीक्षण पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चुमानले गण्डकी प्रदेशको मुख्य प्रवेशद्वारमा अवस्थित रहेको उक्त प्रहरी कार्यालयको स्थापनाले प्रदेशकै शान्ति सुरक्षामा अहम भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् । ‘कोरना भाईरसको संक्रमणलाई थप फैलन नदिन सिमा नाकामा हुनुपर्ने चेकिङ लगायत सुरक्षा सतर्कतामा थप सहजता प्रदान गर्न यो पोष्ट सक्षम हुनेछ’, मन्त्री चुमानले भने, ‘प्रदेश अन्तर्गतको सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै प्रदेश अन्तर्गत आम नागरिकको सहज पहुँच हुने गरि प्रहरी सेवाको विस्तार र भौतिक पूर्वाधारयुक्त प्रहरी संरचनाको विकास गर्न गण्डकी प्रदेश सरकार तत्पर रहेको छ ।’
त्यस्तै कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले प्रहरी पोष्टको स्थापनाले शान्ति सुरक्षा तथा अपराध रोकथाम, नियन्त्रण र अनुसन्धानमा थप प्रभावकारिता प्रदान गर्ने साथै आम नागरिकका समस्या समाधानका लागि प्रहरीको मनोवल उच्च हुने विश्वास व्यक्त गरेका छन् । प्रदेश अन्तर्गत नेपाल प्रहरीको सेवा विस्तारमा गण्डकी प्रदेश सरकारको तत्परता प्रति अर्यालले आभार व्यक्त गरे ।
उक्त कार्यक्रममा आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापा, तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्य, शसस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी पोखराका प्रमुख शसस्त्र प्रहरी नायव महानिरीक्षक राजेन्द्र बस्नेत, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेल, स्थानीय लगायतको सहभागिता रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।