हीरालाल गुरुङ
इच्छाकामना : चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य जाँच तथा उपचार गराउन आउनेहरुको संख्या बढ्दै गएको छ । सरकारले बन्दाबन्दीलाई सहज बनाएसंगै स्वास्थ्य संस्थामा स्वास्थ्य जाँच तथा उपचार गर्न आउनेहरुको संख्या बढ्दै गएको हो ।
अहिले गाउँपालिकाभर रहेका स्वास्थ्य संस्थाहरुमा दैनिक २५० जना भन्दा बढिले स्वास्थ्य जाँच तथा उपचार गराउने गरिएको गाउँपालिका स्वास्थ्य शाखा सहायक प्रमुख हरि देवकोटाले जानकारी दिनुभयो। देवकोटाका अनुसार कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि बन्दाबन्दी लागु गरेसंगै स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य जाँच तथा उपचार गर्न आउनेहरुको संख्या घटेको थियो ।
उहाँले भन्नुभयो, कोरोनाको त्राससंगै बन्दाबन्दीका कारण गाउँपालिकाका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य जाँच तथा उपचार गर्न आउनेहरुको संख्या घटेको थियो, तर सरकारले अहिले बन्दाबन्दीलाई केही सहज बनाएसंगै सवारी साधनहरु चल्न थालेपछि स्वास्थ्य जाँच तथा उपचार गर्न आउनेहरुको संख्या बढ्दै गएको हो , अहिले दैनिक २५० भन्दा बढिले स्वास्थ्य जाँच तथा उपचार गर्ने गरेका छन् । उहाँका अनुसार दैनिक यो संख्या बढ्दै गएको छ ।
गाउँपालिकाभर ५ ओटा स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य एकाई गरि हाल ९ वटा स्वास्थ्य संस्थाहरु रहेका छन् । अहिले वडा नम्बर १, ४, ५,६ र ७ नम्बर वडामा स्वास्थ्य चौकी रहेका छन् । अन्य वडामा सामुदायिक स्वास्थ्य एकाई रहेका छन् । वाड नम्बर ७ मा थप एक सहित वाड नम्बर २ र ३ मा आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापनाका लागि प्रकृया अघि बढीसकेको उहाँले बताउनुभयो ।
गाउँपालिका हाल सम्म कोरोना मुक्त
यसैबिच इच्छाकामना गाउँपालिका अहिलेसम्म कोरोना संक्रमणबाट सुरक्षित देखिएको छ । गाउँपालिकामा अहिलेसम्म १ जना पनि कोरोना संक्रमित बिरामी भेटिएको छैन। गाउँपालिकाको स्वास्थ्य शाखाले उपलब्ध गराएको तथ्याङ्क विवरण अुनसार पिसिआर विधिबाट ३१ जना र आरडिटि विधिबाट १०० जनाको कोरोना परिक्षण गरिएको छ। तर परिक्षण गरिएका कसैमा पनि कोरोना संक्रमण नदेखिएको गाउँपालिकाका स्वास्थ्य शाखाका सहायक प्रमुख हरि देवकोटाले जानकारी दिनुभयो।
अहिलेसम्म कोरोना संक्रमण नदेखिनु सुखद भएपनि केन्द्रिय राजधानी भित्रिने र बाहिरीने मुख्या राजमार्ग रहेकाले बन्दाबन्दीलाई सहज बनाएसंगै सवारी साधनहरु चल्न थालेको र केही होटलहरु खुल्न थालेकोले ढुक्क हुन अवस्था नरहेको देवकोटाले बताउनुभयो । उहाँले भन्नुभयो,“देशभर संक्रमणको प्रभाव बढ्दै गैरहेको छ ,अझ केन्द्रिय राजधानी भित्रिने र बाहिरिने राजमार्ग क्षेत्र हो, सवारी साधनहरु फाट्टफुट्ट चल्न थालेको छ, केही होटलहरु खुल्न थालेका छन् ,त्यस कारण सचेत र सजग हुन जरुरी छ । ”
उहाँका अनुसार गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टिनमा अहिले भारत लगायत तेस्रो मुलुकबाट आएका १८ जना बसिरहेका छन् भने ३६ जना क्वारेन्टिन अवधि पुरा गरि घर फर्केका छन्।् ।