कुरिनटार: १८ असार । चितवनको इच्छाकामना गाउँपालिका वडा न. २ को केन्द्र तोकिएको छ। असार १० गते देखि जारी गाउँपालिकाको सातौँ गाउँसभाको आज बसेको चौथो बैठकले वडा न२ को केन्द्र माथिल्लो काउलेमा तोकिएको हो।

विवादका कारण टुंगो लगाउन नसकेको वडाको केन्द्रका लागि सभामा ३ वटा स्थानको नाममा प्रस्ताव परेको थियो। वडा सदस्य माया गुरुङको तर्फबाट ओर्ल्याङ, वडाध्यक्षको तर्फबाट हाल वडा कार्यालय सञ्चालन भैरहेको स्थान हपनी र सुसासन तथा संस्थागत विकास समितिको तर्फबाट संयोजक मोदराज सिलवालले माथिल्लो काउलेमा वडा केन्द्र राख्न सभामा प्रस्ताव पेश गरेका थिए। सभामा प्रस्तुत प्रस्तावहरु मध्य सुसासन तथा संस्थागत विकास समितिको तर्फबाट संयोजक मोदराज सिलवालले माथिल्लो काउलेमा वडा केन्द्र राख्न पेश गरिएको प्रस्तावलाई सभाले बहुमतका साथ पारित गरेको थियो।

उक्त प्रस्तावको पक्षमा सभामा तत्काल कायम सदस्य संख्याको १९ मत परेको थियो भने विपक्षमा १४ मत परेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं सभाका सचिव सुकदेव लम्सालले जानकारी दिनुभयो। अधिकृत लम्सालका अनुसार वडा सदस्य माया गुरुङको तर्फबाट प्रस्तावित केन्द्र ओर्ल्याङ भन्ने प्रस्ताव भने फिर्ता गरिएको थियो।

वडा नम्बर ३ को अझै टुंगो लागेन

वडा नम्बर ३ को केन्द्रको अझै टुंगो लागेको छैन । आज भएको गाउँ सभाले टुंगो लाउन सकेन। उक्त वडाको फिस्लिङ र चुम्लिङटारमा मध्य कुनैपनी प्रस्तावको पक्षमा बहुमत नभएपछी केन्द्र टुंगो लाग्न नसकेको हो। सभामा तत्काल कायम सदस्य संख्याको ५१ प्रतिशत मतले केन्द्र टुंगो लगाउन सक्ने कानुनी प्रावधान रहेको छ। इच्छाकामना गाउँपालिकाको गाउँसभामा तत्काल कायम सदस्य संख्या ३५ छ जस अनुसार कुनै पनि प्रस्ताव बहुमतले पारित गर्न कम्तिमा पनि १८ मत ल्याउनै पर्नी हुन्छ। तर आज भएको गाउसभामा प्रस्तावित वडा ३ को केन्द्र सम्बन्धमा फिस्लिङको पक्षमा १५ र चुम्लिङटारको पक्षमा १७ मत परेको थियो। अब उक्त प्रस्तावमा छलफल गर्न आगामी असार २२ गते गाउँसभा प्रमुख प्रशासकिय अधिकृत लम्सालले जानकारी दिनुभयो ।