राजेन्द्र न्यौपाने

गोरखा, ११ असार । भूकम्प पछि क्षतिग्रस्त भएका जिल्लाका ४९० विद्यालय मध्ये ३२० विद्यालय भवनहरु निर्माण सम्पन्न भएको छ । ५५ विद्यालयको पुर्वाधारका विभिन्न संरचनाहरु आ.व. ०७७/०७८ मा बन्ने भएको छ ।

शिक्षा तर्फको केन्द्रिय आयोजना कार्यान्वयन इकाई गोरखाबाट प्रस्ताव भए अनुसार राष्ट्रिय पुननिर्माण प्राधिकरणले आ.व. ०७/।०७८ का लागि जिल्लाका ५५ वटा विद्यालय भवन विद्यालय व्यवस्थापन समिति मार्फत निर्माण गर्ने, ७० वटा विद्यालयमा शौचालय निर्माण गर्ने र ७० वटा विद्यालयमा खानेपानी आयोजना निर्माण गर्ने योजना स्वीकृत गरेको छ । चालु आर्थिक वर्षमा नै बन्नु पर्ने यी विद्यालयहरु अर्थ मन्त्रालयले बजेट स्वीकृत नगरेका कारण ढिला भएको हो । जिल्लामा विद्यालय व्यवस्थापन समिति मार्फत ३४२, दातृ निकाय र मित्रराष्ट्र मार्फत ८० र विभिन्न संघ संस्था मार्फत ३५ विद्यालय गरी ४५७ विद्यालयहरु निर्माण सम्पन्न हुने अवस्थामा रहेको कार्यान्वयन इकाई गोरखाका प्रमुख विष्णु प्रसाद मिश्रले जानकारी दिए ।

चीन सरकारको सहयोगमा बन्न लागेको सिञ्जाली मा.वि. ताक्लुङको विद्यालय भवनको सर्वे अझै हुन सकेको छैन । भूकम्पका कारण जिल्लाको ४९२ विद्यालयका ३०५२ कक्षाकोठा पुर्ण र १०८५ कक्षाकोठा आंशिक क्षति भएका थिए । हाल सम्म ३२० विद्यालय निर्माण सम्पन्न भएका छन् । ८३ विद्यालय निर्माणाधिन र ५५ विद्यालय निर्माणका लागि सम्झौताको क्रममा रहेको इकाइका प्रमुख मिश्रले बताए ।