
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई नेपालको बारेमा बोल्दा ध्यान पुर्याउन आग्रह गर्नुभएको छ । बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले योगीबारे उठेको प्रश्नको जवाफमा भन्नुभयो ‘उत्तर प्रदेशमा मुख्यमन्त्री आदित्यनाथले नेपालको विरुद्धमा त्यसरी बोल्नुभएको हो भने त्यो जायज हैन । यदि त्यसरी नेपाललाई उहाँले धम्काउन खोज्नुभएको हो भने त्यो उचित हैन । अहिले यति भनौं उहाँ केन्द्रीय सरकारको निर्णायक व्यक्ति पनि नभएको, तैपनि उहाँले मुख्यमन्त्रीको हैसियतले त्यस्तो बोल्नुभएको हो भने नबोलिनुपथ्र्यो, त्यो बोल्नुभएको हो भने आलोच्य विषय हो । त्यसरी नेपाललाई धम्की दिनुभएको हो भने त्यो निन्दनीय विषय हो । त्यस्तो कुरालाई हामी नेपालमाथिको अपहेलनाको रुपमा बुझ्छौं । नेपाल हेपिन तयार छैन, नेपाल हेपिन मान्दैन भन्ने कुरा योगीजीलाई स्मरण गराउन चाहन्छु ।’
प्रधानमन्त्री ओलीले सन् १९५० को भारतसँगको सन्धि अपमानपूर्ण भएको र त्यसलाई नेपालले अहिलेसम्म नस्वीकारेको बताउनुभयो आफू भारत भ्रमणमा गएको बेला छलफल गरेर उच्चस्तरीय समिति बनाएर त्यसबार अध्ययन गरेको र त्यसको प्रतिवेदन बुझ्न भारतले नमानिरहेको बताउनुभयो । भारतले प्रतिबेदन बुझ्न नमान्नु र सिफारिसहरुलाई कार्यान्वयन गर्न नखोज्नु सहज कुरा नभएको उहाँले बताउनुभयो ।
यसैबिच कोरोना नियन्त्रणका लागि सरकारले १० अर्ब खर्च गरेको विवरण सार्वजनिक भएपछि प्रमुख प्रतिपक्ष दल तथा अन्य दलका सांसदले यसको निकै आलोचना गरिरहेका छन्। विशेष गरी नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले १० अर्ब कहाँ कहाँ खर्च भयो त्यसको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने मंगलबारको बैठकमा बताउनुभएको थियो । आज, बुधबार थापाको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले हिसाब विस्तारै आउने बताउनुभयो । उहँले अहिले कोरोनाको चिन्ता गर्ने बेला भएको पनि बताए। ‘हेरक कुराको हिसाबकिताब रुजुबेरुज सबै आउँछ। आन्तरिक लेखा परीक्षण त्यो पनि भइरहेको हुन्छ। त्यसको पनि हिसाब आउँछ त्यसकारण हिसाबको चिन्ता नगरौँ अहिले कोभिड–१९ को चिन्ता गरौं’ उहाँले भन्नुभयो ।