
चितवन : भरतपुर महानगरपालिकाका नेपाली कांग्रेससम्बद्ध जनप्रतिनिधिहरुले भरतपुर कोरोना विशेष अस्थायी अस्पतालको जिन्सी अपचलन चोरीकाण्डमा मुछिएका कर्मचारीहरुलाई कारबाही गर्न माग गर्दै उजुरी दिने तयारी गरेका छन् । घटनामा संलग्न कर्मचारीहरुलाई निलम्बन गर्न माग गर्दै आएका महानगरका उपमेयर तथा वडाध्यक्षहरुले मेयरले कारबाहीको विषयमा चासो नदेखाएको भन्दै प्रहरी कार्यालयमा उजुरी दर्ता गर्ने निर्णय गरेका छन् ।
शनिबार महानगरपालिका उपमेयर, वडाध्यक्ष तथा वडा सदस्यहरुको भेलाले उक्त घटनामा मुछिएका तीन जनालाई कारबाही गर्न माग गर्दै भोली जिल्ला प्रहरी कार्यालयमा उजुरी दिने निर्णय गरेको वडा नम्बर २१ का अध्यक्ष चित्रसेन अधिकारीले बताए । “हामीले घटनामा मुछिएकालाई तत्कालै निलम्बन गरेर अनुसन्धानको माग गरौं भनेर धेरै पटक मेयरलाई अनुरोध ग¥यौं”, अधिकारीले भने, “तर महानगरपालिकाले यस विषयलाई प्राथमिकतामा राख्नै चाहेन ।” वार्ताबाट समस्या समाधान गरौं भनेर लामो समयसम्म प्रयास गर्दा पनि वेवास्ता गरिएपछि महानगरको ईज्जत जोगाउन चोरीमा मुछिएका लाई कारबाही गर्न आफैले उजुरी दिने निर्णयमा पुगेको अधिकारीले बताए ।
महानगरपालिकाकी उपमेयर पार्वती शाह ठकुरीले महानगरले घटनाको विषयमा प्रतिवेदन तयार पार्न आफ्नो नेतृत्वमा समिति बनाएपनि उक्त समितिले दिएको रायलाई वेवास्ता गरिएको बताइन् । मेयर एकतर्फीरुपमा अघि बढेको भन्दै उनले यसको बिरोधमा उत्रन जनप्रतिनिधिहरुलाई आह्वान गरिन् । “हामी यो मुद्दालाई यसै छाड्दैनौं । सरकारी सम्पत्ती हिनामिना हुन नदिने र महानगरको गरिमा बढाउने जिम्मेवारी हाम्रो काँधमा छ”, उनले भनिन्, “हामी आफैले कानूनविद्हरुसँग परामर्ष गरेर उजुरी दिन्छौं ।”
कांग्रेसबाट प्रतिनिधित्व गर्नेहरुले महानगरपालिकाको नेतृत्वले यो विषयलाई वेवास्ता गरिरहे नगर परिषद्समेत अबरोध गर्ने चेताबनी दिएका छन् । उनीहरुले विकासका काममा समेत नेपाली कांग्रेसको नेतृत्वमा रहेको वडाहरुलाई वेवास्ता गरिएको आरोप लगाए ।
कोरोना अस्पतालको उक्त घटनासँगै दुई कित्तामा उभिएका भरतपुर महानगरपालिका मेयर र उपमेयरको टोली बीच पटक–पटक वार्ता भएपनि निष्कर्षमा पुग्न सकेको छैन । महानगरले गरेको औपचारिक कार्यक्रमसमेत बहिस्कार गरेर आन्दोलनमा रहेका कांग्रेसका वडाध्यक्षको अगुवाइ गर्दै उपमेयर सडकसम्म पुगेकी थिइन् ।
कांग्रेस वडाध्यक्षहरुले अस्पतालको जिन्सी अपचलनमा मुछिएका महानगरका कर्मचारी फणीन्द्र खनाल र सूर्य तिवारी निलम्बन गरी छानबिन अघि बढाइयोस् भन्ने माग गरेका थिए । कोरोना अस्पतालको स्टोरबाट सामान अन्यत्रै लगिएको जस्तो देखिने सीसीटीभी फूटेज बाहिरिएपछि कांग्रेस वडाध्यक्षहरुले फूटेजमा देखिएका कर्मचारीलाई कारबाही गर्नुपर्ने माग राख्दै आएका छन् । फूटेजमा महानगरका लेखाअधिकृत खनाल र स्वास्थ्य कर्मचारी तिवारीसहित भरतपुर अस्पतालका सञ्जय बराल देखिएका छन् । उनीहरुले स्टोरबाट सामान चोरी गरी बिक्री गरेको आरोप उनीहरुलाई लागेको छ ।
तर, मेयरकै संयोजकत्वमा रहेको कोरोना नियन्त्रण कार्यदलले भरतपुर अस्पताललाई हस्तान्तरण भएपछि कोरोना अस्पतालको सामान सार्नेबेलाको फूटेजलाई अतिरञ्जित गरिएको र मुछिएका कर्मचारीहरुले सामान नचोरेको भनेको छ । फूटेजसँगै अस्पतालमा लाखौं अनियमितता भएको आरोप लागेपछि अख्तियार दूरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयले अस्पतालमा छापा मारेर कागजात लगेको छ । मेयर दाहालले वार्ताको क्रममा आयोगले अनुसन्धान गरेका कारण अन्य अनुसन्धान आवश्यक नपर्ने बताउँदै आएको भरतपुर–८ का वडाध्यक्ष दामोदर न्यौपानेले बताए । “तर हामीलाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगले कारबाही गर्ला जस्तो लागेको छैन”, उनले भने, “घटना भएलगत्तै अनुसन्धान हुनुपर्ने विषयमा यत्रो विलम्ब हुनुहुन्थेन ।”
यसै बिषयका नेपाली काङ्ग्रेस चितवन का सचिव उत्तम जोशीसग इच्छा खवरले यस बारेमा प्रतिक्रीया लिदाँ उनले पार्टीको स्पष्ट निर्देशन बमोजिमनै महानगरका जनप्रतिनिधिहरुले यस्तो निर्णय गरेको बताए । उनले भने “ महानगरमा नेपाली काङ्गेस बाट निर्वाचित प्रतिनिधि ज्यूहरुलाई पार्टीले स्पष्ठ रुपमा निर्देशन दिएको छ , पार्टी उहाँको साथमा छ ।” जोशीले भने अस्पतालको सामान चोरीमा संलग्नलाई कारबाहि र अनियमिताको सत्य तथ्य बाहिर नआएसम्म नेपाली काङ्ग्रेस चुप लागेर नबसने बताए । उनले भने “ हामिले निरन्तर दबाव दि रहेका छौ निरन्तर यो बिषयमा प्रश्न गरिरहन्छौं ।