काठमाडौं :  नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ पुगेको छ । डोल्पाका एक पुरुष र कैलाली धनगढीकी एक महिलाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले कैलालीकी ५५ वर्षीया महिलाको हिजो दिउँसो मृत्यु भएको र स्वाब परीक्षण गर्दा मृत्यु भएको जानकारी दिए । उनी मिर्गौलाको बिरामी रहेको र दिउँसो १२ बजे सेती प्रादेशिक अस्पतालमा डाइलाइसिस गर्ने क्रममा मृत्यु भएको उनले बताए ।

मृत्युपछि कोरोना परीक्षण गर्दा पिसिआर रिपोर्ट पोजेटिभ आएको डा।देवकोटाले जानकारी दिए । उनका अनुसार नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

यसैबिच पछिल्लो २४ घन्टामा थप ३ सय २३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा थप ३ सय २३ जनामा कोरोना भाइरसको संक्रमण पाइएको जनाएको छ ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा।विकास देवकोटाले पछिल्लो २४ घन्टामा थपिएका ३ सय २३ जनासहित देशभर कूल संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको जानकारी दिए ।