गोरखा : नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै नेपाल रेडक्रस सोसाईटी गोरखा जिल्ला शाखाले नौसय बेड निर्माणका लागि ओड्ने र ओछ्याउने कम्मल , त्रिपाल हस्तन्तरण गरेको छ । जिल्लाको चुमनुब्री गाउँपालिका बाहेक २ वटा नगरपालिका र ८ वटा गाउँपालिकाका लागि क्वारेन्टाइन स्थल निर्माणका लागि उपशाखा मार्फत सहयोग गरिएको गोरखा शाखाका मन्त्री राजेन्द्र न्यौपानेले बताए ।
नेपाल रेडक्रस सोसाईटी केन्द्रबाट प्राप्त भएको तीनसय थान मास्क उपशाखाहरुलाई प्रदान गरिएको उनको भनाई छ । गोरखा भित्र प्रवेश गर्ने नाका, कारगार लगायतका अत्यावश्क स्थानहरुमा मागका आधारमा टेन्ट हाउस समेत निर्माण गरिएको छ । जिल्ला शाखा अन्तर्गत रहेका २५ वटा उपशाखा मार्फत पालिकाहरुलाई सहयोग गरिएको हो ।