
काठमाडौं : इन्डियन आयल कर्पोरेसन ९आइओसी०को बरौनी रिफाइनरीबाट आयल निगमको थानकोट डिपोमा डिजेल बोकेर आएका चार ट्यांकरमा मट्टीतेल मिसावट भएको भेटिएको छ ।
मट्टीतेल मिसाइएका डिजेलका थप २० ट्यांकर बाटोमै रोकेर राखिएको छ ।थानकोट डिपोमा तेल ओसार्ने करिब दुई सय ट्यांकरको ताल्चा खोल्ने साझा साँचो ९मास्टर की० हराएपछि यति धेरै ट्यांकरमा मिसावटको घटना भेटिएको हो ।
अहिले तेल मिसावट भएका सबै ट्यांकर हराएको एउटै साँचोले खोल्न मिल्छ ।ट्यांकरचालकले साँचो दुरुपयोग गरी डिजेल लोड भएको ट्यांकरमा मट्टीतेल मिसाएर आर्थिक लाभ लिन खोजेको प्रारम्भिक अनुमान गरिएको छ ।
एक व्यवसायीका अनुसार बरौनी रिफाइनरीबाट २५ फागुनमा डिजेल बोकेर आएका ट्यांकरमा मट्टीतेल मिसावट भएको भेटिएको हो ।
हराएको मास्टर कीले सिनामंगलस्थित हवाई इन्धन डिपोमा तेल ओसार्ने एक सय ८१ ट्यांकर र थानकोट डिपोमा डिजेल र पेट्रोल ओसार्ने दुई सयभन्दा बढी ट्यांकरको ताल्चा खोल्न मिल्छ ।
मास्टर की हराएपछि थानकोट डिपोमा तेल ओसार्ने ट्यांकरमा चोरीको घटना बढेका छन् ।
एक व्यवसायीका अनुसार ८ फागुनमा अमलेखगन्जबाट थानकोट डिपोमा २० हजार लिटर डिजेल बोकेर आएको एक ट्यांकरमा दुई सय ५२ लिटर तेल गायब भएको भेटिएको थियो ।
नयाँ पत्रिका दैनिकमा अजित अधिकारीले समाचार लेखेका छन् ।