काठमाडौं :  प्रधानमन्त्री केपी ओलीले शनिबार बिहान सरकारी निवास बालुवाटारमा पार्टी संसदीय दलका उपनेता सुवास नेम्वाङसँग पार्टीभित्रे विकसित घटनाक्रमका विषयमा छलफल गरे ।
त्यसको केही बेरपछि बोलाइए, परराष्टमन्त्री प्रदीप ज्ञवाली पनि । पार्टीभित्र बहुमत नेताहरुको घेराबन्दीमा परेका प्रधानमन्त्री ओली आफू विरुद्दको घेरा कसरी तोड्ने भन्नेमा निकट नेताहरुसँग दिनहुँ जसो आन्तरिक छलफलमा छन् ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरु पनि प्रधानमन्त्रीले सचिवालय निर्णय कार्यान्वयनमा गरिरहेको ‘आनाकानी’लाई कसरी कार्यान्वयनमा लैजाने भन्नेमा छलफलमै छन् ।

१० फागुनको सचिवालय बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजान संविधान संशोधन कार्यदल गठन सम्मका विषयमा नेकपा प्रवेश गरेपछि त्यसयता पार्टीभित्र ओली र ओली इतर समूहका रुपमा नेताहरुका बीच ‘मोर्चाबन्दी’ जारी छ ।

पार्टीभित्र देखिएको विवाद समाधान कसरी खोज्ने भन्नेमा दुबै पक्षमा अहिले आन्तरिक तयारी तिव्र छ । तर अडान आ–आफना यथावत ।

१४ फागुनको सचिवालयले उपाध्यक्ष वामदेव गौतमलाई निशर्त राष्ट्रिय सभामा सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने स्थानमा पठाउने निर्णयमा पुगेपछि ओली दवावमा परेका छन् ।

ओली पार्टीको निर्णयलाई नमानी युवराज खतिवडालाई नै राष्ट्रिय सभा सदस्यमा दोहोर्‍याउने, प्रचण्डलगायत नेताहरु सचिवालयका निर्णय अनुसार वामदेव गौतमलाई नै राष्ट्रिय सभामा पठाउने अडानमा छन् ।

खासमा यो खुमलटार र बालुवाटार बीचको शक्ति संर्घष हो । यो शक्ति संर्घषमा अरु नेताहरु ‘वामदेव प्रकरण’ बनेर जोडिएका मात्र हुन् ।

दुबै पक्षले आन्तरिक तयारी गर्ने र त्यसपछि त्यसको निश्कर्ष र समस्या समाधानको विकल्प सार्वजनिक गर्ने क्रम पनि नेकपाभित्र चलेको छ ।

शुक्रबार बिहान प्रचण्ड निवास खुमलटारमा दाहाल, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम बीचको छलफलको निस्कर्ष प्रचण्डले चितवन पुगेर पत्रकारसँग खोलेका थिए ।

‘अहिले पार्टी निर्णय मानेर वामदेवलाई राष्ट्रिय सभा सदस्यका रुपमा लैजाने, अर्थमन्त्रीका रुपमा खतिवडालाई नै अहिले निरन्तरता दिने ।’ प्रचण्डले चिवनमा पुगेर सुनाएका एउटा विकल्प हुन् यी ।

त्यही सन्देश वरिष्ठ नेता नेपालले शुक्रबार दिउँसो प्रधानमन्त्री ओलीसँगको भेटमा सुनाएका पनि थिए । तर पनि प्रधानमन्त्री ओली त्यसमा ‘टसमस’ भएको देखिएका छैनन् ।

ओलीले पनि आफ्ना अडान आफुपक्षीय नेता इश्वर पाखेरेलमार्फत अभिव्यक्त गराइरहेका छन् ।

शनिबार बिहानसम्मको नेताहरुको बालुवाटार छलफलको निश्कर्ष उपप्रधानमन्त्री पोखरेलले पनि विराटनगर पुगेर सुनाए ।

‘वामदेवलाई राष्ट्रिय सभामा लैजाने पार्टी निर्णय कार्यान्वयन गर्ने तर त्यो पहिले खतिवडालाई लग्ने र पछि उपयुक्त समय मिलाएर मात्र गौतमलाई लैजाने ।’

आजको अन्नपूर्ण पोष्ट दैनिकमा रामकृष्ण अधिकारीले खबर लेखेका छन् ।