काठमाडौं :  नियमित कार्यकाल सकिनु दुई दिनअघि सभापति शेरबहादुर देउवाले विभाग गठन गरेका छन् ।उनले शनिबार एक दर्जन विभागमा प्रमुख मनोनीत गरेका हुन् । ४७ मध्ये १३ विभागमा प्रमुख मनोनीत गरिएको छ ।

पार्टी विधानअनुसार महाधिवेशनको दुई महिनाभित्र विभाग गठन गरिसक्नुपर्छ ।संगठन विभागमा गोपालमान श्रेष्ठ, संघीय मामिला तथा प्रदेश समन्वयमा रमेश रिजाल, मुस्लिममा फरमुल्लाह मन्सुर र स्थानीय तह समन्वयमा अर्जुनप्रसाद जोशी मनोनीत भएका छन् ।

सभापति देउवाले वित्तीय तथा सहकारी संस्था समन्वयमा आनन्दप्रसाद ढुंगाना, तराई–मधेस समन्वयमा अजयकुमार चौरसिया, यातायात व्यवसायी समन्वयमा महेन्द्र यादव, तरुणमा शंकर भण्डारीलाई जिम्मेवारी तोकेका छन् ।

आदिवासी जनजातिमा सीता गुरुङ, नेपाली जनसम्पर्क समिति समन्वयमा गोविन्द भट्टराई, उद्योग व्यापारमा चीनकाजी श्रेष्ठ, सूचना, सञ्चार तथा प्रचारमा प्रवक्ता विश्वप्रकाश शर्मा र श्रमिक तथा ट्रेड युनियनमा शिवप्रसाद हुमागाईंलाई जिम्मेवारी दिइएको छ ।

१३ विभाग प्रमुखमध्ये १२ जना सभापति देउवा निकट हुन् भने हुमागाईं कृष्णप्रसाद सिटौला निकट मानिन्छन् ।

पौडेलनिकट नेता प्रकाशमान सिंहले विभाग गठनप्रति असहमति जनाएका छन् ।

उनले १४ औं महाधिवेशनलाई प्रभावित गर्ने गरी कार्यकालको अन्तिममा विभाग गरिएको भन्दै असन्तुष्टि जनाएको आजको अन्नपूर्ण पोष्ट दैनिकमा खगन्द्र भण्डारीले खबर लेखेका छन् ।