
हीरालाल गुरुङ
मुग्लिन,१७ फागुन । चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित देवी भञ्ज्याङ राष्ट्रिय आधारभुतविद्यालयमा पहिलो पटक शुक्रबार विद्यालय प्रांगणमा अभिभावकहरुले भरिए । स्थापनाको २६ औँ बर्षपछि विद्यालयको प्रांगणमा अभिभावकहरु एक साथ उपस्थित भएको यो पहिलो पटक हो । पहिलोपटक विद्यालयको प्रांगण पनि सिंगारिएको थियो ।
चेपाङ बालबालिका अध्ययनरत उक्त विद्यालयले अहिले सम्म बार्षिकोत्सव तथा अभिभावक दिवस नमनाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बल बहादुर बहादुर चेपाङले बताउनुभयो । उहाँका अनुसार स्थापनाको २६ बर्षपछि पहिलोपटक बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । बार्षिकोत्सव समारोहमा बोल्दै अध्यक्ष चेपाङले भन्नुभयो, “विद्यालय स्थापना भएको पनि २६ बर्ष भइसके छ , तर हामीले पहिलो पटक बार्षिकोत्सव मनाएका छौँ, आज निकै खुशी लागेका छ ।” उहाँले विद्यालयलाई यहाँ सम्म ल्याउन साथ र सहयोग गर्ने व्यक्ति संघसंस्था सबैलाई धन्यावद दिनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख कृष्ण कुमार डल्लाकोटीले शिक्षाको गुणस्तर बढाउन तर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । विद्यालयका लागि आवस्यक भौतिक संरचनाहरु निर्माण भइरहेकाले अव बालबालिकाहरु चुहिएको छानो र चिसो भुइमा बसेर पढ्नुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो । कही कतै भए त्यो पनि चाडैँ अन्त्य हुने बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालय भवनसहित आवस्यक पुर्वाधारहरु बनीरहेका छन्, अव चिसो भुइमा, चुहिएको छानो मुनी बसेर पढ्नु पर्दैन भौतिक संरचनाहरु धेरै बनीसकेका छन् बन्ने क्रम जारी छ, त्यसै अव शिक्षाको गुणस्तर तर्फ ध्यान दिनु आवस्यक छ, । ”
वडाध्यक्ष भूपेन्द्र चेपाङले जनचेतनाको कमीका कारण सुरुका दिनहरुमा विद्यालय संचालनमा कठिनाई भए पनि पछिल्लो समय सहयोगी संस्थाहरुका कारण केही सहज भएको बताउनुभयो । उहाँले शिक्षाको गुणस्तरका लागि वडाले आवस्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
विद्यालयका संस्थापक प्रधानाध्यापक गोपी सिलवालले विद्यालय निकै कठिनाइका साथ स्थापना गरिएको बताउनुभयो । उहाँले सोही बाटो भएर छिमेकी गाउँ आधारमारा विद्यालयमा जादाँ यहाँको बालबच्चाहरु विद्यालय नजिक नभएका कारण खेलीरहेको अवस्थामा भेट्ने गर्दा आफुलाई यस ठाउँमा विद्यालय आवस्यक छ भन्ने लागेर प्रकृया अघि बढाएको बताउनुभयो । यहाँ विद्यालय स्थापना गर्नुपर्छ भन्ने चेतनाको कमीका कारण सुरुमा अभिभावकहरुलाई बुझाउन नै कठिन भएको स्मरण गर्नुभयो ।
उक्त विद्यालयलाई सहयोग गर्दै आएका जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी नायव निरीक्षक कृष्ण ज्यु ठकुरी, वाल्मीकि शिक्षा सदन भरतपुरका प्रीन्सिपल लक्ष्मीकान्त चालिसे,सर्बोच्च अदालत बार एसोसिएसनका उपाध्यक्ष राजु खड्का, लायन्स क्लब अफ चितवन सिटिका पुर्ब अध्यक्ष ,मिसिका फाउन्डेसनका अध्यक्ष मधुसुदन अर्याल ,हेल्पकोड नेपालका शिला देबकोटा, आरआर एनका बिरु गुरुङ बिद्यालयका पुर्ब प्र.अ. गोपि सिलवाल र विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
अभिभावकसंगै अतिथिहरुले भरिएको विद्यालय प्रांगणमा बालबालिकाहरुले नृत्य प्रश्तुत गरेका थिए ।
सोही दिन सेन्चुरी कमर्सियल बैंक वागमती प्रदेश इन्चार्ज शंकर के सि तथा बेलचोक शाखाका प्रबन्धक गणेश शर्माले बिद्यालयका बिद्यार्थीहरुलाई बिद्यालय पोशाक बितरण गर्नु भएको थियो।
कक्षा १ देखि ५ सम्म पढाई हुने यस विद्यालयमा १२० जना चेपाङ बालबालिकाहरु अध्ययनरत रहेको प्रधानाध्यापक ज्ञानु पाण्डेले जानकारी दिनुभयो ।
विद्यालयमा विभिन्न संघसंस्थाहरुले दैनिक खाजाको व्यवस्था गरिएको छ। साथै शैक्षिक समाग्री लगायत सहयोग गरिरहेका छन् । विद्यालयम नियमित दिवाखाजाको व्यवस्था भएपछि बालबालिकाहरु नियमित विद्यालय आउने गरेको प्रधानाध्यापक पाण्डले बताउनुभयो ।