काठमाडौं :  कोरोना भाइरसको संक्रमण विश्वव्यापी चुनौती बनेको छ । छिमेकी देश चीनबाट फैलिएको कोरोना नेपालीको उल्लेख्य उपस्थिति भएका मुलुकसम्म पुगिसकेको छ ।

४० हजारभन्दा बढी नेपाली रहेको दक्षिण कोरियामा कोभिड–१९ का बिरामी तीव्रदरमा बढिरहेका छन् ।

तर, नेपालमा संक्रमित भेटिँदा वा बाहिरबाट ल्याउनुपर्दा उपचार गर्ने आइसियू बेड छैनन् ।

सरकारले टेकु, पाटन, वीर, त्रिवि शिक्षण र सिभिल अस्पताललाई कोरोना संक्रमितको उपचारका लागि तयारी अवस्थामा बस्न ११ माघमै निर्देशन दिएको थियो ।

तर, कुनै पनि अस्पतालले व्यवस्थापन गर्न सकेका छैनन् । अस्पतालका आइसियू बेड अन्य बिरामीले भरिएका छन् ।

सरकारले प्राथमिक उपचारका लागि चारवटा आइसियू बेड भएको टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल तोकेको थियो ।

तर, अस्पतालका बेड एचआइभी र मौसमी फ्लुका बिरामीले भरिएको समाचार आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन् ।