काठमाडौं : केही दिनदेखि प्याजको भाउ घटेको छ भने लसुनको भाउ उच्च हुँदा कारोबार नै ठप्प भएको छ ।भारतीय बजारबाट प्याज आउन थालेसँगै उपत्यकाका बजारमा प्याजको भाउ घटेको हो ।गत असोजदेखि महँगिएर मङ्सिरमा थोकमै १८० रुपियाँ पुगेको प्याजको मूल्य अहिले घटेर ७३ रुपियाँमा थोकमा कारोबार भइरहेको छ ।
त्यस अवधिमा प्याजको खुद्रा मूल्य प्रतिकेजी २५० रुपियाँसम्म पुगेको थियो ।
भारतले नेपालमा प्याज निर्यात गर्न प्रतिबन्ध लगाएसँगै महँगो भएको प्याज अहिले भारतमा उत्पादन बढेर विगतभन्दा सहज रूपमा आउन थालेपछि मूल्य सस्तिएको व्यापारी बताउँछन् ।
लसुन ठप्प
चीनबाट हुने लसुनको आयात बन्द भएपछि नेपाली बजारमा लसुनको कारोबार ठप्प भएको छ ।काठमाडौं उपत्यकाको लसुनको माग चिनियाँले धान्दै आएकोमा नोबेल कोरोना भाइसर फैलिने डरले दुई देशका व्यापारिक नाका बन्द गरिएसँगै कालीमाटी तरकारी बजारमा यसको कारोबार ठप्प भएको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार माघ २२ गतेदेखि लसुनको कारोबार ठप्प भएको खबर गोरखापत्र दैनिकमा समाचार छ ।