
काठमाडौं : भारतको दिल्ली विधानसभा निर्वाचनको मतगणना जारी छ । प्रारम्भिक मत गणनामा आम आदमी पार्टी (आप)लाई स्पष्ट बहुमत मिल्ने देखिएको छ । तर आपलाई यसअघिको निर्वाचनभन्दा १० सिट कम मिल्ने संकेत पनि देखिएको छ ।
केन्द्रमा सरकार चलाईरहेको भारतीय जनता पार्टीले १३ सिटमा अग्रता लिएको छ । नतिजामा भाजपा एग्जिट पोल्सभन्दा राम्रो अवस्थामा देखिएको छ । राष्ट्रियस्तरको ठूलो दल कांग्रेस भने कहिँ पनि प्रतिस्पर्धी देखिएको छैन् ।
नतिजामा केहि अनौठो दृश्य पनि देखिएको छ । भाजपाले दिल्लीको मुख्य मुद्दा बनाएको शाहीन बागमा आपका अमानतुल्लाह खान अगाडि छन् ।
७० सिटको लागि भएको विधानसभा निर्वाचन ८ फ्रेबुअरीमा भएको थियो । निर्वाचनमा ६२।५९ प्रतिशत मत खसेको थियो ।
नतिजासँगै दिल्लीमा आपले सरकार बनाउने निश्चित देखिएको छ । मुख्यमन्त्री अरबिन्द केजरीवाल तेस्रो पटक दिल्लीको सीएम बन्ने निश्चित छ ।
उनि पहिलो पटक २०१३ मा ४८ दिनसम्म मुख्यमन्त्रीको पदमा रहेका थिए । उनले दोस्रो पटक १४ फ्रेबुअरी २०१५ मा पुनः दिल्लीको सत्ता सम्हालेका थिए ।