काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जनयुद्ध दिवसको अवसरमा फागुन १ गतेलाई शहिद स्मृति दिवसको रुपमा मनाउने भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको सहमतिका आधारमा तल्लो तहका कमिटीलाई जनयुद्ध दिवसलाई सहिद स्मृति दिवसको रुपमा मनाउन निर्देशन दिइएको हो ।
नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले अध्यक्षद्वयबीचको सहमतिका आधारमा फागुन १ लाई सहिद स्मृति दिवसको रुपमा मनाउने निर्णय गरिएको जानकारी दिए । उनले भने, फागुन १ लाई जनयुद्ध र जनआन्दोलनका सहिदलाई स्मरण गर्नेगरी सहिद स्मृति दिवसको रुपमा मनाउने सहमति भएको छ । त्यसैअनुसार तल्ला तहका सबै कमिटीले सहिद स्मृति दिवसको अवसरमा फागुन १ गते विभिन्न कार्यक्रम आयोजना गर्दैछन् ।ु
नेपाल कम्युनिष्ट पार्टी नेकपा बनेपछि तत्कालिन बिद्रोही नेकपा माओवादीले थालेको जनयुद्धलाई हेर्ने दृष्टिकोणमा एकरुपता थिएन् । अब भने जनयुद्ध र जनआन्दोलनका सहिदलाई स्मरण गर्नेगरी सहिद स्मृति दिवसको रुपमा मनाउने तयारी नेकपाले गरेको छ । पूर्वमाओवादीले जनयुद्ध दिवसको रुपमा मनाउने गरेको थियो भने पूर्वएमालेले जनयुद्धलाई भन्दा जनआन्दोलनलाई प्राथमिकता दिएको थियो ।
अध्यक्षद्वयबीचको सहमतिका आधारमा अब नेकपाले फागुन १ गतेलाई जनयुद्ध र जनआन्दोलनका सहिदको स्मरणगर्नेगरी औपचारिक कार्यक्रम गर्ने भएको छ । फागुन १ गतेका लागि कर्णाली प्रदेश र प्रदेश ५ का नेकपाका प्रदेश कमिटीले परिपत्र जारी गरेर जनयुद्ध दिवस मनाउने निर्णय गरिसकेका छन् ।