काठमाडौँ  : उपसभापति विजयकुमार गच्छदारको बचाउमा सडकदेखि संसदसम्म प्रमुख प्रतिपक्षी दल कांग्रेस एकसाथ उत्रिएको छ। कांग्रेसले शुक्रबार दिउँसो एक बजे गच्छदारको बचाउमा राजधानीको माइतीघर मण्डलमा प्रदर्शन गरेको छ। माइतीघरमा विरोधमा उत्रिएका कांग्रेसका नेता कार्यकर्ताले बालुवाटारको जग्गा विक्रीको निर्णय गर्ने पूर्व प्रधानमन्त्री र खरिद गरी लालपूर्जा बोकेर हिँड्ने नेकपाका नेताहरुलाई कारवाही नभएको भन्दै चर्को नाराबाजी गरे। माइतीघरमा कांग्रेसको एउटा समूह उत्रिएको आधा घण्टापछि प्रतिनिधिसभामा त्यही नारा लाग्यो। दिउँसो १ बजेर २५ मिनेटमा सुरु भएको प्रतिनिधि सभाको बैठकमा कांग्रेसका सांसद मिनबहादुर विश्वकर्माले आफ्ना नेता गच्छदारलाई सरकारको निर्देशनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियतवश फसाएको भन्दै आक्रोश व्यक्त गरे। आधा घण्टाका लागि  स्थगित गरिएको प्रतिनिधि सभाको बैठक अझै  सुरु  हुन  सकेको छैन ।