राजेन्द्र न्यौपाने
गोरखा :  नयाँपुल कृषि उपज सञ्चालक समितिको पहलमा शहिदलखन गाउँपालिका वडा नं. ३ रामशाह बजार मनकामना गोरखामा २०७५ असोज देखि सुरु भएको हाटबजारमा तीन करोड भन्दा बढीको कृषि उपज विक्री भएको छ ।
समितिका अध्यक्ष होमनाथ रिमालका अनुसार माघको पहिलो शनिबार सहित ६६ वटा शनिबार यस ठाउँमा हाट बजार लागेको छ । बजार लागेको केही दिन १२ लाख सम्मको कारोवार भएको थियो । औषतमा पाँचलाख सम्मको कारोवार हुने गरेको छ । किसानले ल्याएको समान र विक्री पछिको मूल्यलाई हिसाव गरेर कारोवार रकम निकाल्ने गरेको उनले बताए ।
किसानहरुले आफूले उत्पादन गरेको बस्तु विक्रीका लागि यहाँ बनाइएको भवनमा राखेर विक्री गर्न पाउने व्यवस्था मिलाइएको छ । ग्राहकले व्यापारीको भन्दा पनि किसानहरुसँगै तरकारी, फलफूल किन्ने गरेका छन् । किसानले ल्याएका कुनै पनि बस्तु फर्काउनु नपरेको अनुभव रिमालले सुनाए ।
गण्डकी प्रदेश सरकारको ८५ प्रतिशत र शहिद लखन गाउँपालिकाको १५ प्रतिशत अनुदानमा रामशाह टोलमा बजार स्थापना भएको थियो । प्रत्येक शनिबार लाग्ने बजारमा मानिसहरु कृषि उपज खरिद विक्रीका लागि आउने गर्दछन् ।
बाहिरबाट आयत गरिएका तरकारी भन्दा किसानले बारीबाट ल्याएको ताजा तरकारी किन्न पाउने भएका कारण आफू साप्ताहिक रुपमा यस बजारमा आउने गरेको आँबुखैरेनीका हरी केसीले बताए ।
प्रदेश सरकारको सहयोगमा मिनि कोल्ड स्टोर निर्माणको तयारी भईरहेको र कोल्ड स्टोर तयारी भएसँगै किसानका उपजहरु सबै खरिद गरेर राख्ने योजना समितिले बनाएको छ । यहाँ बजार लाग्दा समितिका पदाधिकारीहरुले निरन्तर रेखदेख गर्दछन् । विक्रीका लागि किसानहरुले विशेष गरी तरकारी र दलहन बाली ल्याउने गर्दछन् ।