काठमाडौं :  आजबाट मौसममा क्रमिक सुधार हुने मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ । गत बुधबार देशको पश्चिम भेगबाट प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीका कारण उच्च हिमाली भेगमा हिमपात र पहाडी र तराई क्षेत्रमा वर्षा भएको थियो । वर्षाका कारण चिसोसमेत बढेको छ । तर, यो प्रणाली शनिबारबाट कमजोर बन्दै गएकाले मौसममा क्रमिक सुधार हुने मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् ।

‘बुधबारदेखि प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणाली विस्तारै कमजोर हुँदै गएकाले आजबाटै मौसम सुधारिँदै जानेछ,’ मौसमविद् पोखरेलले अनलाइनखबरसँग भनिन् ।

काठमाडौंमा शनिबार बिहानैदेखि हुस्सु लागेको छ । मौसमविद् पोखरेलका अनुसार, केहीबेर काठमाडौं उपत्यकामा बदली भए पनि दिउँसोबाट घाम लाग्नसक्ने सम्भावना छ ।

यद्यपि, भोलिबाट भने काठमाडौंसहित देशका अधिकांश भूभागको मौसम घमाइलो हुने पोखरेलले जानकारी दिइन् । ‘आज घाम र बदलीबीच लुकामारी चले पनि भोलिबाट भने काठमाडौंसहित देशका अधिकांश भागमा घाम लाग्ने देखिन्छ,’ मौसमविद् पोखरेलले भनिन् ।

उच्च पहाडी तथा हिमाली भेग भने आज दिनभर नै हिमपातको जोखिममा पर्नसक्ने सम्भावना मौसम पूर्वानुमान महाशाखाले औंल्याएको छ । उसले आवश्यक सतर्कता अपनाउन पनि यो क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ ।