पोखरा :  विश्वकै होचा व्यक्तिको रुपमा कीर्तिमान राखेका खगेन्द्र थापा मगरको निधन भएको छ । खगेन्द्रको शुक्रवार दिउसो मणिपाल अस्पताल पोखरामा निधन भएको हो । स्वास्थ्यमा एकाएक समस्या आएपछि उनलाई हिजो मात्र अस्पतालमा भर्ना गरिएको थियो । मणिपाल अस्पतालको सघन उपचारकक्ष (आइसियु) मा भर्ना भएका थापा मगरलाई शुक्रवार दिउसो करिव ३ बजे चिकित्सकको टोलीले मृत घोषणा गरेको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर राना मगरले बताउनुभयो ।

खगेन्द्रको मृत्यु कुन रोगको कारण हो भन्ने वारेमा खुलाइएको छैन । अस्पताल स्रोतले रिपोर्ट आएपछिमात्र भन्न सकिने जनाएको छ । खगेन्द्रमा यसअघी स्वासप्रश्साव समस्या, हेमोग्लोबिन कमी, सेतो रगत आवश्यक भन्दा बढी हुने जस्ता समस्या देखिदै आएका थिए ।

बाग्लुङ धुल्लुवासकोट ६ का खगेन्द्र थापा मगर ले २०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाउन सफल भएका थिए । ५७ सेन्टिमिटर अर्थात् २२ दशमलव ०४ इन्च रहेका थापालाई वल्र्ड रेकर्ड टोलीले परीक्षण पश्चात विश्वकै सानो बच्चाको उपाधि दिदै मेडल पहिराएको थियो । गिनिज बुकमा नाम लेखाउन १८ वर्ष पुग्नुपर्ने प्रावधान रहेका कारण छ महिनापछि मात्र उनको रेकर्ड आधिकारिक रुपोमा प्रमाणित गरिएको थियो ।

धुल्लुवासकोट स्थायी घर भएका खगेन्द्र पोखराको सृजनाचोकमा बस्दै आएका थिए ।