चितवन,३ माघ ।  गुडिरहेको ट्रकमा पछाडीबाट आउँदै गरेको पर्यटक बसले ठक्कर दिँँदा ३३ जना घाईते भएका छन् । घाइतेमध्ये २१ जना चिनियाँ पर्यटक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार नारायणगढतर्फ आउँदै गरेको लु२ख ३३०५ नं को ट्रकमा पछाडीबाट आउँदै गरेको बा१प ७८३ नं को पर्यटक बस बिहान ११ः१५ बजे भरतपुर महानगरपालिका–१ रामनगरमा ठक्कर दिएको थियो । ट्रकमा ठोक्किएर बस नजिकैको घरमा ठक्कर खान पुगेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी पर्यटक बसमा सवार २१ जना चिनियाँसहित ३२ जना र घरमा रहेका एकजना महिला घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पर्यटक सौराहा जान आउँदै गरेको जनाइएको छ ।