काठमाडौं,१ माघ । बालुवाटारको ललिता निवास जग्गाकाण्डमा मुछिएका शोभाकान्त ढकालको घरमा आज साँझ बम विस्फोट भएको छ। बिस्फोट आसपासका क्षेत्रमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको पर्चा भेटिएको छ।

काठमाडौं प्रहरी प्रवक्ता डिएसपी होविन्द्र बोगटीका अनुसार, नागार्जुन नगरपालिका १ को नर्सरी चोकमा रहेको ढकालको घरमा बम विस्फोट भएको हो ।

बम विस्फोटस्थलमा प्रतिबन्धित विप्लव समूहको पर्चा भेटिएकोले सोही समूहबाट विष्फोट भएको अनुमान प्रहरीको छ । सो पर्चामा बालुवाटारको जग्गा कब्जा गर्नेलाई पार्टीले कारवाही गर्ने उल्लेख छ।

‘बालुवाटारस्थित ललिता निवासको जग्गा माफियाका नाइकेहरु भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ, भू–माफियाहरु शोभाकान्त ढकाल र रामकुमार सुवेदीको चंगुलमा परेर राज्य सञ्चालकले सुवर्ण शम्शेरको सन्तानबाट तथाकथित मोही सिर्जना गरेको हो’, पर्चामा लेखिएको छ।

बालुवाटरको १४३ रोपनी जग्गा खरिद गर्नेमा ढकाल पनि एक हुन्। विस्फोटले घरको सिसा फुटेको छ भने गेटमासमेत क्षति पुगेको छ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले विस्फोटको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए। विस्फोटमा कुनै मानवीय क्षति भने भएको छैन।