कुरिनटार, २२ पुस । नारायणगढ मुग्लिन सडक खण्ड पुस २४ गते बिहीबारसम्म बिहान ११ बजेदेखि दिउँसो तीन बजे सम्म दैनिक चार घन्टा बन्द हुने भएको छ । मंसिर २७ गतेदेखि दुई हप्ताका लागि भनेर बाटो बन्द हुन सुरु भएको थियो । यसअघि काम नसकिएको भन्दै पुस २२ गतेसम्म बन्द हुने भनिएको थियो । यो समयमा पनि काम पूरा नभएपछि थप दुई दिन बाटो बन्द हुने भएको हो ।

‘काम अझै केही बाँकी रहेका कारण पुस २४ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म बाटो बन्द जारी राखिने नारायणगढ मुग्लिन सडक आयोजानका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिनुभयो ।
नारायणगढ मुग्लिन सडक खण्डलाई दुई लेनको फराकिलो सडक बनाउने काम गत वर्ष मात्रै सकिएको थियो। सडक फराकिलो बनाउनका लागि पहाड काटेको ठाउँमा पहिरो जाने समस्या सुरु भएको थियो।

गत वर्ष अधिकांश ठाउँमा पहिरो नियन्त्रणको काम पूरा भएपनि आठ ठाउँमा काम बाँकी थियो। ती ठाउँहरुमा पहिरो नियन्त्रणको काम सुरु गर्नुअघि उच्च ठाउँमा अड्किएका कमजोर अवस्थाका चट्टानहरु झार्नुपर्ने हुन्छ। ‘पहिरोग्रस्त ठाउँ सफा गर्दा माथिमाथिबाट खस्न बाँकी रहेका साना ठूला चट्टान र माटो सफा गरेर झार्नुपर्ने हुन्छ। जसका कारण सडकमा गाडी चल्न सम्भव हुँदैन’ इन्जिनियर खनालले भन्नुभयो । चट्टान र माटो झारेर सफा गरेपछि पहिरो नियन्त्रणको अन्य कामका लागि गाडी बन्द नै गर्नुपर्ने अवस्था नआउने उहाँले बताउनुभयो । त्यसरी अड्केका चट्टानहरु पुस २४ भित्र पूरै सफा गर्ने तयारी रहेको उहाँले बताउनुभयो