कुरिनटार, १९ पुस । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाले नेपाल भ्रमण वर्ष २०२० को सफलताको लागि आन्तरिक तथा बाह्य पर्यटकलाई फुलमालाले इच्छाकामनामा स्वागत गरेको छ । आज शनिबार धादिङ र चितवनको उत्तरी सिमानामा पर्ने मौवाखोलामा एक कार्यक्रम गरी केन्द्रिय काठमाण्डौबाट आएका आन्तरिक तथा बाह्य पर्यटकलाई गाउँपालिकाको जनप्रतिनिधी कर्मचारी सहित स्थानीय विभिन्न संघ संस्थाका प्रतिनिधीहरुले फुलमाला अबिर लगाई स्वागत गरिएको हो । स्वागतका लागि गाउँपलिकाका अध्यक्ष गीता कुमारी गुरुङ, उपाध्यक्ष कृती कुमार श्रेष्ठ, प्रवक्ता सावित्री गुरुङ, वडाध्यक्षहरु नन्दलाल गिरी, गोवद्र्धन अधिकारी, होम बहादुर राना, भुपेन्द्र चेपाङ लगायत स्थानीय राजनैतिक दल विभिन्न संघ संस्थाका प्रतिनिधीहरु सहभागी थिए । स्वागत कार्यक्रममा पर्यटकहरुलाई स्वागत गर्दै नेपाल भ्रमण वर्ष २०२० मा इच्छकामना घुम्नका लागि निमन्त्रणा गरिएको गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले बताउनुभयो । नेपाल भ्रमण वर्ष २०२० मा गाउँपालिकाले घुमौ इच्छाकामना अभियान सञ्चालन गरिएको पनि उहाँले बताउनुभयो । स्वागत कार्यक्रममा स्थानीय नेवार र गुरुङ समुदायले झाँकी नाँच समेत प्रस्तुत गरेको थियो ।
पर्यटकहरु कौडा गीतमा नेपालीहरुसंगै नाचेर रमाइलो गरेका थिए ।