हीरालाल गुरुङ
कुरिनटार, १९ पुस । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले नेपालीहरु निराश हुनु पर्ने कुनै कारण नरहेको बताउनुभएको छ । आज चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ मा अवस्थित सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारको स्वर्ण महोत्सवको समापन कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले नेपालमा राणा शासन, तीस बर्षको पञ्चायतकाल शसस्त्र युद्ध र नाकाबन्दीको बेलामा समेत नेपाली निराश नभएको भन्दै अब निराश हुनु पर्ने कुनै कारण नरहेको बताउनुभएको हो ।
प्रवक्ता शर्माले भन्नुभयो,“ हामी हरेक कोणबाट प्रकृतिको कोणबाट, संस्कृतिको कोणबाट, बहादुरीको कोणबाट सबै कुरामा अघि छौँ, देशमा हिंसा भयो,द्वन्द भयो निराश हुने अवस्थामा पुग्यो तर पनि हाम्रो राजनितिक नेतृत्व एक ठाउँमा आए , आज देशलाई एउटा शान्ति दिएको अवस्था छ । हामीले निराशाको कयौँ कुरा गर्दा विर्सिनु हुन्नकी राणा शासनको पालामा निराश नभएको नेपाली राणा शासन अन्त्यपछि किन निराश हुने, तीस बर्षको पञ्चायत बोकेर हिड्दा निराश नभएको नेपाली पञ्चायत गएपछि निराश किन हुने ।”
उहाँले थप्नुभयो, “यतै गोली चल्यो उतै गोली चल्यो हामी भाई –भाईलाई मार्नतिर लाग्यौँ, सत्ता पक्षले प्रतिपक्षले जसले होस् हामीले द्वन्द ग¥यौँ, कती ठिक थियो कती बेठिक थियो त्यो अलग्गै छलफलको विषय होला तर हामी द्धन्द्धका बेला पनि निराश भएनौँ, नदीहरुमा पानी भन्दा रगत बढी बग्यो तर निराश भएन, त्यो बेला निराश नभएको बेला आज शान्ति आउदाँ देशले संविधान पाउँदा हामी किन निराश हुने ।” भारतले नाका बन्दी लगाउँदा समेत नेपाली निराश नभएको र नाकाबन्दी नै चपाएर निलेको नेपाली अब कुनै पनि कारणले निराश हुनुपर्ने अवस्था नरहेको उहाँको भनाईछ ।
प्रवक्ता शर्माले अहिले देशमा शान्ति आएको र स्थिर सरकार भएकोले निराश नहुन सबैलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाल देश आज जहाँ आइरहेको छ शान्ति भएको छ, स्थिर सरकार बनेको छ कुन दलको सरकार बनेको छ छोडिदिनुस् तर देशमा सरकार छ , सबै प्रदेशमा सरकार छ , स्थानीय सरकार छ केन्द्र सरकार छ सबै सरकारलाई सघाउनुपर्छ, सकारको कमजोरीको खबरदारी गर्नुपर्छ घचघच्याउनुपर्छ, सबै हाम्रा सरकार हुन् , यो भारत पाकिस्तान, अमेरीका चीनको सरकार होईन हामीले पाचँ बर्षका लागि चुनेको सरकारहो । नेतृत्वलाई सघाएर जान सक्यौ भने कमजोरीलाई खरो ढंगले आलोचना गरेर जान सक्यो भने देश बनाउन समय लाग्दैन, ।”
साथै प्रवक्ता शर्माले विद्यालयमा शिक्षक शिक्षिकाहरुले कितावी ज्ञान मात्र नभई संस्कार पनि सिकाउनु पर्ने बताउनुभयो । डाक्टर इन्जिनियर वैज्ञानिक जे सुकै बने पनि संस्कारबाट बाहिर रहे भने शिक्षाको कुनै अर्थ नरहने उहाँको भनाई छ । विद्यालयको प्रगती उन्नतीका लागि त्यो वा यो पार्टी नभनी आवस्यकता हेरेर सबै मिली अघि बढ्न सुझाव पनि दिनुभयो । कांग्रेस कम्यूनिष्ट भन्दा अघि हामी नेपाली हौँ भनेर बुझ्न आवस्यक रहेको उहाँको भनाई छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले गाउाँपालिकाले शिक्षामा विशेष जोड दिइरहेको बताउनुभयो । सर्वशान्ति माध्यमिक विद्यालयलाई भौतिक तथा शैक्षिक सुधारका लागि निरन्तर सहयोग गरिरहेको र आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिईरहने बताउनुभयो ।
कार्यक्रममा, नेकपा चितवनका जिल्ला सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङले समृद्ध इच्छाकामना निर्माणका लागि शिक्षामा विशेष जोड दिनुपर्ने बताउनुभयो । आर्थिक समृद्धिका लागि सबै परिवर्तनकारी शिक्तहरु एक भएर अघि बढ्नुपर्ने बताउनुभयो । तर इच्छाकामनामा त्यसो हुन नसकेको बताउनुभयो । इच्छाकामनाको समृद्धिका लागि स्थानीय सकारलाई नेकपाले हरपल सहयोग गर्ने बताउनुभयो ।
वि.सं २०२७ सालमा स्थापना भएको यस विद्यालयले पुस १३ गते देखि पुस १९ गते सम्म विविध कार्यक्रम गरि स्वर्ण महोत्सव मनाइएको हो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रमणी सापकोटाले स्वर्ण महोत्सव सफलताका साथ सम्पन्न गर्नका लागि सहयोग गर्ने सबै महानुभावहरु अतिथि हरुलाई धन्यवाद दिनुभयो ।
स्वर्ण महोत्सवको अवसरमा सातै दिन विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरु संचालन गरिएको थियो। विद्यालयलाई विभिन्न क्षेत्रबाट योगदान पु¥याउने महानुभावहरुलाई सम्मान समेत गरिएको विद्यालयका प्रधानाध्यापक जोहन खरेलले जानकारी दिनुभयो ।