
चितवन, १४ माघ । चितवनमा हुने प्रथम संस्करणको सीएमसी चितवन प्रिमियर लिग (सीपीएल) टि – २० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
प्रतियोगिताको आयोजक संस्था नारायणी एडर्भटाइजिङ एण्ड इभेन्ट्स प्रालिले आज तालिका सार्वजनिक गरेको हो । सार्वजनिक तालिका अनुसार प्रतियोगिताको पहिलो खेलमा भरतपुर गुर्खाजले इच्छाकामना वारियर्सको सामना गर्नेछ । भरतपुर र इच्छाकामनाबीचको खेल मध्यान्ह १२ बजे क्याम्पाचौर नारायणगढमा हुनेछ ।
माघ १८ गते मध्यान्ह १२ बजे माडी टाइगर्स र सौराहा स्याण्ड्सबीच खेल हुनेछ । प्रतियोगिताअन्तर्गत १९ गतेबाट २ खेलहरु हुनेछन् । १९ गते पहिलो खेलमा बिहान ९ बजे इच्छाकामना वारियर्सले माडी टाइगर्सको सामना गर्नेछ भने दिउँसो १ बजे राप्ती र्यापिड्सले भरतपुर गुर्खाजसँग खेल्नेछ ।
यस्तै २० गते सौराह स्याण्ड्स र राप्ती र्यापिड्स तथा भरतपुर गुर्खाज र माडी टाइगर्स भिड्नेछन् भने २१ गते भरतपुर गुर्खाज र सौराहा स्याण्ड्स तथा इच्छाकामना वारियर्स र राप्ती र्यापिड्स भिड्नेछन् । २२ गते समूह चरणको अन्तिम दिन राप्ती र्यापिड्स र माडी टाइगर्स तथा इच्छाकामना वारियर्स र सौराहा स्याण्ड्स भिड्नेछन् । राउन्ड रोबिन लिगको शीर्ष स्थानमा रहने टोली फाइनलमा प्रवेश गर्नेछ । लिग चरणमा दोस्रो र तेस्रो हुने टोलीले २३ गते इलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछ र विजेता टोली फाइनल पुग्ने छ । प्रतियोगिताको फाइनल खेल २५ गते हुनेछ ।
प्रतियोगिताको विजेताले दुई लाख तथा उपविजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताभरको उत्कृष्ट खेलाडीसहित बेस्ट बलर, ब्याट्सम्यान र अलराउण्डरलाई अवार्ड प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट बलर, ब्याट्सम्यान र अलराउण्डरले ईपीएलमा चितवन टाइगर्सबाट खेल्न पाउने सम्झौता भएको छ ।