काठमाडौँ : हवाई इन्धन ढुवानी गर्ने चालकले ट्याङ्करको चाबी पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घलाई बुझाएका छन् । शनिबारदेखि ढुवानी रोकेका चालकले आइतबार १८१ वटा ट्याङ्करको चाबी महासङ्घलाई बुझाएका हुन् ।
भारतबाट ल्याउने र आन्तरिक बजारमा हुने हवाई इन्धनको आपूर्ति दुई दिनदेखि रोकिएको छ । चालकले ढुवानीका क्रममा हुने प्राविधिक नोक्सानीको सीमा हटाउनुका साथै, तोकिएको मापदण्डभन्दा बढी नोक्सानी भए दोब्बर तिर्नुपर्ने व्यवस्था पनि रोकिनुपर्ने माग गरेको छ ।
उक्त माग पूरा नभए काम गर्न नसकिने उनीहरूको भनाइ छ । निगम र ट्याङ्कर साहुको दोहोरो चेपुवामा आफूहरूको परेको चालकहरूको गुनासो छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।