काठमाण्डौः अग्निप्रसाद सापकोटा प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित हुनुभएको छ ।आइतबार बसेको संसद बैठकले सापकोटालाई निर्विरोध निर्वाचित गरेको हो ।

सभामुखमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सापकोटाको मात्र उम्मेदवारी परेकाले बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत र समर्थकले समर्थन गरेसँगै बैठकमा सभामुखको हैसियतमा रहनुभएका ज्येष्ठ सदस्य महन्थ ठाकुरले उहाँलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो ।

सापकोटाको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ र नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ र सांसद ओनसरी घर्ती एवं तथा राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्णले समर्थन जनाउनुभएको थियो ।

यही माघ ६ गतेको प्रतिनिधिसभाको बैठकले आइतबारका लागि सभामुख चुनावको मिति तय गरेको थियो ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा महिलामाथिको यौन दुर्व्यवहारको विवादमा परेपछि गएको असोज १५ गते पदबाट राजीनामा दिनुभएको थियो । हाल उहाँ पुर्पक्षका लागि थुनामा हुनुहुन्छ ।