काठमाडौं :  राष्ट्रिय सभा निर्वाचनमा सत्तासीन नेकपा एकलौटी विजयी भएको छ ।१८ सदस्यका लागि बिहीबार भएको मतदानमा नेकपाले १६ सिट जितेको हो । दुई सिट नेकपासँग गठबन्धन गरेको राजपाको भागमा परेको छ । विपक्षी कांग्रेसले सातै सिट गुमाएको छ ।

प्रत्येक दुई वर्षमा एकतिहाई सांसदको कार्यकाल समाप्त हुने संवैधानिक व्यवस्थाअनुसार १८ पदका लागि बिहीबार निर्वाचन भएको हो ।

एक सिटमा भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट पछि मनोनित हुनेछ । कांग्रेसका सातसहित १९ जना सांसदको कार्यकाल फागुन २० मा सकिँदै छ । नवनिर्वाचित राष्ट्रियसभा सदस्यको कार्यकाल फागुन २० पछि मात्र सुरु हुनेछ ।

निर्वाचन आयोगका अनुसार प्रदेश १ बाट नेकपाका गोपी अछामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल निर्वाचित भएका छन् । अच्छामी दलिततर्फ, गौतम महिला र दाहाल अन्य समूहबाट निर्वाचित भएका हुन् ।

प्रदेश २ मा नेकपा–राजपा गठबन्धनका उम्मेदवारले जितेका छन् । महिला समूहतर्फ नेकपाकी तुलसाकुमारी दाहाल र दलिततर्फ नेकपाकै राधेश्याम पासवान विजयी भएका छन् । अपांगता भएको व्यक्ति वा अल्पसंख्यक समूहतर्फ राजपाका शेखरकुमार सिंह र अन्यतर्फ राजपाकै मृगेन्द्रकुमार सिंह यादव निर्वाचित भएका छन् ।

बागमती प्रदेशमा नेकपाबाट महिला समूहतर्फ गंंगाकुमारी बेल्वासे र अन्यतर्फ वेदुराम भुसालले जितेका छन् ।

गण्डकीमा महिला समूहतर्फ नेकपाकी भगवती न्यौपाने र अन्यतर्फ नेकपाकै नारायणकाजी श्रेष्ठ निर्वाचित भएका छन् ।

प्रदेश ५ मा नेकपाकै गोपाल भट्टराई, विमला घिमिरे र जगप्रसाद शर्मा निर्वाचित भएका छन् ।

कर्णालीबाट नेकपाका मायाप्रसाद शर्मा र सुमित्रा बीसी निर्वाचित भएका छन् । सुदूरपश्चिम प्रदेशबाट नेकपाकै उम्मेदवार विजयी भएका छन् । महिला समूहतर्फ शारदादेवी भट्ट र अन्यतर्फ तारामान स्वाँर निर्वाचित भएका हुन् ।

नयाँ परिणामपछि ५९ सदस्यीय राष्ट्रियसभामा नेकपाका ५० जना ९सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित तीन जनासमेत० सांसद हुनेछन् ।

आफ्नो १३ सदस्य रहेको प्रमुख विपक्षी कांग्रेस ६ सिटमा खुम्चिने भएको छ । राजपाका दुई र फोरमका एक जना सांसद रहनेछन् ।

संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभामा विपक्षी कांग्रेस नाम मात्रको प्रतिपक्ष बन्ने देखिन्छ । सरकारका कामकारबाहीमा अनुगमन, निर्देशन र नियन्त्रण गर्ने संसद्मा प्रमुख विपक्षीको भूमिका ‘निरीह’ बन्ने देखिन्छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा नरेन्द्र साउदले समाचार लेखेका छन् ।