चितवन : बागमती प्रदेशको राजधानी मकवानपुर हुँदा छिमेकी जिल्ला चितवनका बासिन्दा खुशी भएका छन् । संघिय राजधानी चितवन हुनु पर्ने माग गर्दै आएका यहाँका बासिन्दा भौगोलिक कारणले प्रदेशको राजधानी समेत टाढा पर्ने होकी भन्ने चिन्तामा रहेका थिए ।
ठूला सभाहरुमा केन्द्रिय नेताहरुले यस जिल्लाको वर्णन र सम्भावनाका बारेमा निकै चर्चा गर्ने गर्दछन् । आँफ्नै जिल्लामा प्रदेशको राजधानी समेत नभए पछि छिमेकी जिल्लामा स्थायी राजधानीको चित्त वुझाउँदै यहाँका बासिन्दा खुशी भएका छन् ।
माडी नगरपालिका वडा नम्बर ७ निवासी मदत्त काफ्लेले जोडीएको जिल्ला भएकाले मकवानपुर राजधानी हुँदा चितवन बासीलाई राम्रो भएको भन्दै खुशी प्रकट गर्नुभयो । पूर्बी चितवनको भण्डाराका अनुपम अधिकारीले जिल्ला फरक परे पनि सिमाना जोडीएकाले मकवानपुर राजधानी हुनु चितवन भए जस्तै भएको बताउनुभयो ।
चितवन क्षेत्र नम्बर दुईका संघिय सांसद कृष्णभक्त पोख्रेल हेटौडा देखि दाउन्ने वारी सम्मको भूभागलाई जोडेर एउटै सहर वनाउनु पर्ने भन्दै मकवानपुर राजधानी हुनु चितवन बासिका लागि सुखद रहेको बताउनु हुन्छ । मकवानपुर सानो क्षेत्र भएको भन्दै उहाँले सिमाना जोडीएको चितवनले प्रशस्त सम्भावना वोकेकाले राजधानीको लाभ चितवनले लिन सक्ने तर्क गर्नुभयो ।
राजधानी आउने व्यक्ति बस्ने पर्यटकीय गन्तव्य देखि बिमानस्थल सम्म चितवनमानै रहेको छ । चितवनको सदरमुकाम भरतपुरबाट राम्रो बाटो वन्दा एक घण्टाको दुरीमा प्रदेश राजधानी हेटौंडा पुग्न सकीन्छ । बिश्वका ठूला देशहरुको राजधानीबाट छिमेकमा ठूला शहरहरु बनेको भन्दै त्यो सम्भावना चितवनले बोकेको उहाँको भनाई छ ।
मकवानपुरलाई प्रदेशको स्थायी राजधानी बनाउन पहल गर्दै आउनु भएकी प्रदेश सभा सदस्य गिता वाग्ले नेपाली काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टीको एकताले मकवानपुर राजधानी बनेकोमा जिल्ला बासी खुशी भएको बताउनुहुन्छ । तत्कालीन शेरवहादुर देउवाको सरकारले अस्थायी राजधानी तय गरेको अहिलेको नेकपाका सांसदले राजधानी प्रस्ताब गरेको र काङ्ग्रेस सांसदले राजधानीमा समर्थन गर्दै बागमती प्रदेश प्रस्ताब गरेको भन्दै वाग्लेले सबैको साझा राजधानी वन्न सक्नु खुशीको कुरा रहेको बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी९नेकपा० चितवनका अध्यक्ष यमवहादुर परियार भुगोलको हिसाबले अन्तै राम्रो हुन सक्ने भए पनि संघियताको मर्म अनुसार मकवानपुर राजधानीका लागि उपयुक्त भएको बताउनुभयो । छिमेकी जिल्ला भएकाले मकवानपुर राजधानी हुँदा आफ्नै जिल्लामा राजधानी भएको आभाष यहाँका बासिन्दालाई भएको उहाँको भनाई छ ।
चितवनलाईनै राजधानी वनाउन नसक्दा यहाँको बासिन्दाको पहिलो रोजाई मकवानपुर हुनु स्वभाबिक भएको उहाँको तर्क छ । नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ चितवनलाई बैकल्पिक संघिय राजधानीको रुपमा सम्भावना बोकेको जिल्ला भन्ने गरिएको भन्दै यो जिल्ला राजधानी हुन नपाउँदा छिमेकी जिल्ला हुनु यसका लागि राम्रो भएको बताउनु हुन्छ । एक घण्टाको दुरीमा प्रदेशको राजधानी भएकाले यसको प्रत्यक्ष लाभ चितवन बासिले लिन सक्ने उहाँको भनाई छ ।
उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका उपाध्यक्ष राजन गौतम भौगोलिक हिसाबले मकवानपुर उपयुक्त नभए पनि राजधानी वनिसकेकाले यसको प्रत्यक्ष लाभ मकवानपुर पछि चितवनले लिने बताउनुहुन्छ । संघिय प्रणालीमा भएकाले धेरै अपेक्षा नभए पनि व्यवसायीक रुपमा यसको लाभ चितवनलाई पनि हुने उहाँले बताउनुभयो ।
उद्योग वाणिज्य संघ चितवनका नवनिर्वाचित अध्यक्ष राजु श्रेष्ठ छिमेकी जिल्ला मकवानपुरमा राजधानी हुँदा यहाँको उद्योग व्यवसाय वृद्धि गर्न सहयोग पुग्ने बताउनुहुन्छ । प्रशासनीक काम देखि अन्य व्यवसायीक कामहरुमा दुरीको हिसाबले पनि चितवन बासीलाई निकै सहज भएको श्रेष्ठको बुझाई छ ।