बिबिसी :  भारतको सत्तारूढ दल भारतीय जनता पार्टीका एक पूर्वसांसदलाई बलात्कारसम्बन्धी एउटा चर्चित मुद्दामा जन्मकैदको सजाय सुनाइएको छ।

दिल्लीको तीस हजारी अदालतले दोषी ठहरिएका ५१ वर्षीय कुलदीप सिंह सेङ्गरले २५ लाख भारतीय रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला समेत गरेको छ।

सेङ्गरलाई बालबालिका संरक्षणसम्बन्धी कानुन आकर्षित हुने कसुरमा मुद्दा दायर गरिएको थियो। बलात्कार गरिँदा पीडित १७ वर्षकी थिइन्।

अघिल्लो वर्ष प्रहरीले आफ्नो उजुरीमा कुनै सुनुवाइ नगरेको भन्दै पीडितले आत्मदाह गर्ने प्रयास गरेपछि यो घटनाले भारतको ध्यान तानेको थियो।

यसै हप्ताको शुरूतिर दिल्लीस्थित अदालतले सेङ्गरलाई दोषी ठहर गरेको थियो।

ुषड्यन्त्रु

भारतीय कानुन अनुसार नाम सार्वजनिक गर्न नमिल्ने ती महिला गत जुलाईमा एउटा शङ्कास्पद कार दुर्घटनामा गम्भीर घाइते भएकी थिइन्।

उनीसँगै यात्रा गरिरहेका उनका दुईजना आफन्तले ज्यान गुमाएका थिए भने उनका वकिल गम्भीर घाइते भएका थिए।

उनकी आमाले सेङ्गरले उक्त दुर्घटना षड्यन्त्रपूर्वक गराएको बताए पनि उनले ती आरोप अस्वीकार गर्दै आएका छन्। सङ्घीय प्रहरीले उक्त आरोपमाथि अनुसन्धान गरिरहेका छन्।

ती महिलाले आफूले एउटा जागिर माग्दै सन् २०१७ को जुनमा सेङ्गरसँग सम्पर्क गरेको बताएकी छन्।

तर आफूलाई अपहरण गरी सेङ्गरसहितका व्यक्तिले एक हप्ताभन्दा बढी समयसम्म बलात्कार गरेको उनको भनाइ छ।

उनले आफूले प्रहरीमा उजुरी दर्ता गराए पनि उनीहरूले सेङ्गरको नाम आरोपीका रूपमा नराखेको बताएकी छन्।

महिनौँपछि प्रहरीले सेङ्गरविरुद्ध उजुरी दर्ता गरे पनि अनुसन्धान अघि नबढाएको उनको आरोप छ।

गम्भीर आरोप लाग्दा लाग्दै सेङ्गरलाई पार्टीभित्रै राखिराखेको भन्दै भारतीय जनता पार्टीको चर्को आलोचना भएको थियो।

उनलाई उक्त दलले यसै वर्षको अगस्टमा पार्टीबाट बर्खास्त गरेको थियो।

उत्तर प्रदेशका विधायक रहेका सेङ्गरलाई कार दुर्घटनाको योजना रचेको आरोप लागेपछि कारबाही गरिएको थियो।